तपाईँ सुन्दै हुनुहुन्छः

 रोल्पाको सुन्तला जिल्लाबाहिर निर्यात 

 
रोल्पा । रोल्पा जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । जिल्लाको प्रायः सबै गाउँमा सुन्तला फल्ने गर्दछ पछिल्लो केही बर्ष यता नगरपालिका तथा गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले सुन्तला खेतीलाई लक्षित गरी कृषकहरूलाई सुन्तलाको बिरुवा वितरण गर्दै आएको  छ ।
नगदे बाली  भएकोले पनि सुन्तला खेतीतर्फ किसानहरू आकर्षित हुँदै आएका छन् रोल्पाका किसानको मुख्य आयआर्जनको श्रोत पनि सुन्तला बन्दै गएको छ । रोल्पामा उत्पादन भएका सुन्तलाको बजारमा माग निकै बढिरहेको छ ।
सदुपयोग हुन नसकेको जमिन, बारी र कान्लाको डिलमा पनि सुन्तला रोपी जमिनलाई सदुपयोग गर्न सकिन्छ, सुन्तलालाई अन्य बाली सरह दुख गर्न नपर्ने भएकाले जिल्लाका अधिकांश मानिसहरू आफ्नो सबै जग्गामा सुन्तला खेती गर्दै आएका छन् ।
बिरुवा रोपेको ३ देखी ४ वर्षको समयमा फल्न सुरु गर्ने सुन्तला थोक तथा फुटकर मा बिक्री हुने गरेको छ । यातायातको सहज पहुँच नहुने ठाउँबाट २ घण्टाको समय लगाएर डोकोमा बोकेर बजारसम्म  पुर्याउछन भने यातायातको सहज पहुँच हुने ठाउँबाट गाडीले ढुवानी गरेर बजारसम्म पुर्‍याउने गरेको किसानहरू बताउँछन् ।
जिल्लाको सदरमुकाम लिबाङ, पूर्वी क्षेत्रको सुलीचौर, पश्चिम क्षेत्रको घर्तिगाँउ, दक्षिण पश्चिम क्षेत्रको जुगार बुढागाउ तथा दक्षिण क्षेत्रको होलेरी बजारबाट सुन्तला सङ्कलन हुन्छ र माग अनुसार नेपालगन्ज, बुटवल, काठमाडौँको बजारसम्म पुग्छ । सङ्कलित सुन्तलाको मुख्य बजार भने दाङ हो ।
सुन्तला बेचेर एक सिजनमा १ लाख देखि ३ लाखसम्म कमाउने गरेको किसानहरू बताउँछन् । यसरी सुन्तला बेचेर कमाएको पैसाले घरपरिवारको दैनिकी खर्च, चाडबाड खर्च, खाद्यान्न, लत्ताकपडा, पढाइखर्च आदी टार्ने गर्दछन् । सुन्तला बेचेको रकमले ६ महिना देखी १ वर्षसम्म परिवारको भरण पोषण हुने समेत किसानहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button