भारतीय प्रतिबन्ध हटेसँगै प्याजको मुल्यमा गिरावट, उपभोक्तालाई राहत
वीरगञ्ज । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएसँगै आकाशिएको प्याजको मूल्य बिस्तारै घट्न थालेपछि उपभोक्तालाई राहत भएको छ ।
भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गतेबाट हटाएको हो । प्रतिबन्ध हटाउँदा बढेको प्याजको मूल्य अहिले घट्न थालेको हो ।
प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै वीरगञ्जमा ८०–८५ रुपैयाँँ प्रतिकिलोको दरले बिक्री भइरहेको प्याज आज प्रतिकेजी ५८ रुपैयाँमा कारोबार भइरहेको फलफुल तथा तरकारी व्यवसायी संघ वीरगञ्जका अध्यक्ष विदुर गुप्ताले बताउनुभयो ।
गुप्ताले भारतले लगाएको प्रतिबन्ध फुकुवा भएको र नयाँ प्याजको उत्पादन समेत हुन थालेपछि लगातार प्याजको मुल्य ओरालो लागेको र केही दिनमा वीरगञ्ज लगायतका बजारमा प्रतिकेजी २५ देखि ३० रुपैयाँ सम्ममा प्याजको मुल्य आउने गुप्ताले बताउनुभयो ।
हाल नेपालमा खपत हुने प्याज ९० प्रतिशतभन्दा बढी भारतबाट आयात हुने गरेको छ भने बाँकी चीन र नेपालमा नै उत्पादित प्याज प्रयोग हुने गरेको छ ।
भारतले एक्कासी प्याजमा प्रतिबन्ध लगाएपछि भदौ असोजमा प्याजको मुल्य वीरगञ्जमै प्रतिकिलो १ सय १० देखि १ सय २० रुपैयाँ सम्म पुगेको गुप्ताले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्