सरकारी कार्यालयमा सेवाग्राहीको थामिनसक्नु भीड
वीरगञ्ज । विश्वभर फेरि कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहर फैलिदै गएको बेला यता पर्सा जिल्लाका सेवाप्रदायक सरकारी कार्यालयमा सामाजिक दूरी कायम हुन नसक्दा संक्रमण फैलिने खतरा बढदै गएको छ ।
जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाउँपालिका, मालपोत, अदालत, यातायात, विद्युत, बैंक तथा वित्तिय संस्थाहरुमा सामाजिक दूरी कायम नहुँदा सेवा लिन आउने सेवाग्राही ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य भएका छन् ।
सरकारी कार्यालय तथा वित्तिय संस्थाहरुमा स्वास्थ्य मापदण्ड पूरा भए नभएको निगरानी र कार्यान्वयनमा ल्याउने जिल्ला प्रशासन कार्यालयमै सबैभन्दा बढी समस्या देखिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
स्वास्थ्य मापदण्ड लागू गराउने जिल्ला प्रशासन कार्यालयले नै स्वास्थ्य मापदण्ड पालना गराउन नसकेको गुनासो सेवाग्राहीको छ । विशेषगरी जिल्ला प्रशासन, मालपोत, नापी, करदाता सेवा कार्यालय, जिल्ला अदालत, तथा उच्च अदालत जिल्ला प्रहरी कार्यालय, नारायणी अस्पताल लगायत अन्य अस्पतालहरुमा समेत सेवाग्राहीको भीड हुने गरेको र भिडलाई व्यवस्थित गर्न खोज्दा समेत नसकिएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयमा मात्रै दैनिक ५ सय भन्दा बढी नागरिकता, पासपोर्ट लिन आउने गरेका छन् । सेवाग्राहीको साथमा आएका परिवारजन, आफन्तको कारणले पनि भीड बढेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।
नागरिकता लिनुपर्दा बाबु, आमा वा नजिकको नातेदार पनि साथमा ल्याउनुपर्ने अवस्था रहेको र लामो समय सम्म लकडाउनका कारण सरकारी कार्यालयमा अहिले सेवाग्राहीको भीड बढेको र यसलाई व्यवस्थित बनाउने प्रयास गर्दागर्दै पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्