तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीबाट ५ महिनामा झन्डै ७१ करोड राजस्व असुली 

 
सुर्खेत । पछिल्लो समय कर्णालीबाट उत्साहजनक राजस्व सङ्कलन हुन थालेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतले पछिल्लो पाँच महिनामा झन्डै ७१ करोड राजस्व असुली गरेको जनाएको छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मङ्सिर सम्म ७० करोड ७४ लाख रुपैयाँ राजस्व असुली भएको छ । कोरोना महामारीका बाबजुद आन्तरिक राजस्व विभागले दिएको लक्ष्य भन्दा २० करोड ७६ लाख ९८ हजार रुपैयाँ बढी राजस्व असुली भएको कार्यालय प्रमुख डा. रामप्रसाद मैनालीले जानकारी दिनु भयो ।
उहाँले कार्यालयलाई पछिल्लो ५ महिना अर्थात् साउनदेखि मङ्सिर सम्म विभागबाट ४९ करोड ३० लाख ४२ हजार लक्ष्य पाएकोमा १४२ दशमलव १३ प्रतिशत अर्थात् ७० करोड ७४ लाख रुपैयाँ असुली गरेको जनाउनु भयो । उहाँका अनुसार आन्तरिक राजस्व कार्यालयले आयकर तर्फ ३८ करोड ९८ लाख ३२ हजार, बहाल कर २ करोड ५५ लाख ६ हजार, व्याज कर १ करोड ९८ लाख ३६ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २४ करोड ८१ लाख ६१ हजार, अन्तःशुल्कतर्फ १ करोड ७४ ५ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
कार्यालयले गत वर्ष मंसिर सम्मकोे सोही अवधिमा ६२ करोड १५ लाख ७ हजार रुपैयाँ असुली गरेको थियो । उक्त आ.व.को मङ्सिर सम्म विभागले कार्यालयलाई ५८ करोड ६८ लाख १९ हजारको लक्ष्य दिएको कार्यालय प्रमुख मैनालीले बताउनु भयो । उहाँले गत आ.व. २०७६/०७७ मा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको जनाउनु भयो । उहाँका अनुसार गत आवमा राजस्व सङ्कलनमा ७९ दशमलव ८० प्रतिशत प्रगति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button