संसदीय प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा विघटन : मुख्यमन्त्री पोखरेल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले महाधिवेशनले चुनेको पार्टी अध्यक्ष केपी ओलीलाई कमिटीले हटाउन नसक्ने बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले महाधिवेशनबाट चुनिएका अध्यक्षलाई लहड्का भरमा प्रचण्ड र माधव नेपालले हटाउने हैसियत नभएको बताउनुभएको हो ।
मुख्यमन्त्री पोख्रेलले पार्टीको विधि र पद्धति विपरीत प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लहडमा प्रचण्ड–माधवले पार्टी टुक्र्याएर गएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको रक्षाका लागि प्रतिनिधिसभा विघटन गर्नु भएको भन्दै मुख्यमन्त्री पोख्रेलले सो विघटनपछि केही नेताको भने निद हराम भइसकेको बताउनुभयो ।
माधव–प्रचण्डलाई इङ्गित गर्दै मुख्यमन्त्री पोख्रेलले आफ्ना गल्ती नसच्चाए उनीहरू सधैँ सडकमै रहने बताउनुभयो । जनआधार नभएपछि उनीहरू चुनाव नै नहुने भन्दै हिँड्ने गरेको पोख्रेलको भनाइ थियो ।

प्रचण्डले चुनाव हार्ने भएपछि निर्वाचन नै बहिष्कार गर्न सक्ने समेत उहाँले बताउनुभयो । निर्वाचनमा गइहाले भने पनि प्रचण्ड अबको निर्वाचनमा चितवनबाट पराजित हुने भन्दै उहाँले सर्वनाक हार हुने भएपछि अब प्रचण्ड चितवनबाट चुनावमा लड्ने सम्भावना नभएको समेत बताउनुभयो । उहाँले कहिले रोल्पा त कहिले सिराहा पुगेका प्रचण्ड अब चितवन छाडेर नयाँ क्षेत्रमा नयाँ आश्वासन बाँड्न जाने बताउनुभयो ।
नेकपा केन्द्रीय सदस्य पार्वती रावलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सांसद तथा नेकपाका नेता कृष्ण भुर्तेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु काशीनाथ अधिकारी, आनन्द पोख्रेल, सीता पौडेल, नेकपा चितवन क्षेत्र नं.२ का संयोजक नारायणप्रसाद अधिकारी लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्