तनहुँ कारागारमा पुस्तकालय स्थापना

तनहुँ । टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ ।उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दै आएको छ ।
टिम नेपोले रोटरी क्लब अफ काठमाडौँ मिडटाउन र व्यास नगरपालिकाको सहकार्यमा १००५ थान पुस्तक, बुकर्याक व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, टिम नेपोका संस्थापक निगम पौडेल, टिम नेपो तनहुँका संयोजक गोविन्द तिमिल्सिनाले सामूहिक रुपमा कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा नगरप्रमुख न्यौपानेले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको बताउनुभयो । कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबर्द्धक बनाउन सफलता मिल्ने उहाँले बताउनुभयो ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी सागर आचार्यले संख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने बताउनुभयो ।
टिम नेपोका संस्थापक तथा केन्द्रीय अध्यक्ष निगम पौडेलले अनुसन्धानका क्रममा कारागारमा पुस्तकको निकै आवश्यकता देखिएकाले यसलाई अभियानकै रुपमा संचालन गरिएको जानकारी गराउनुभयो ।
त्यसक्रममा उहाँले भन्नुभयो ‘हामीले उदेश्य कारागारमा पुस्तकालय स्थापना गर्नु मात्रै होइन, कारागारलाई सुधारकेन्द्रको रुपमा स्थापना गर्नु, कारागारमा कुण्ठित भएर बसेका थुनुवा तथा कैदी बन्दीहरुलाई विगतमा आफुले गरेका गल्ति, कमजोरीलाई महसुस गरि आगामी जीवन अनुशासित, मर्यादित बनाउन सहयोग गर्नु यस अभियानको उद्देश्य हो’ ।
टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सेनाका अनुसार कारागारलाई एक लाख १७ हजार मूल्य बराबरका एक हजार पाँच पुस्तक प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्