पार्टीभित्रैबाट धारिलो हतियार प्रहार : महासचिव पौडेल
रुपन्देही । सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपामाथि पार्टीभित्रैबाट धारिलो हतियार प्रहार भएको बताउनुभएको छ ।
नेकपा रुपन्देहीको जिल्लास्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता पौडेलले भन्नुभयो–‘नेकपामाथि बाहिरबाट धारिलो खड्ग प्रहार गर्ने काम भएको छैन् । पार्टीकै मानिसहरुले, पार्टीकै अध्यक्षले पार्टीको शिरमा खड्ग प्रहार गर्नुभएको छ ।’
पदको लोभमा पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सहमति विपरित सरकारको सफल रुपमा नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई असहयोग गरेका कारण प्रतिनिधिसभा विघटनको स्थिति आएको नेता पौडेलले बताउनुभयो ।
पदीय लोभका कारण प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्रीविरुद्ध लागेको नेता पौडेलले बताउनुभयो ।
‘प्रधानमन्त्री र अध्यक्ष पदको तलतल लागेर प्रचण्डले बाध्यतावशः सहमति गरेपनि त्यसको मसी सुक्न नपाउँदैं उहाँले प्रधानमन्त्री विरुद्ध लागिहाल्नुहुन्छ ।’ उहाँले भन्नुभयो–‘आजको समस्या सत्ता र शक्तिको लागि प्रकट भएका महत्वकांक्षाले सिर्जना भएको समस्या हो । कुनै नीति वा बैचारिक समस्या होइन ।’
‘राजनीतिक घटनाक्रमलाई एक/एक गरेर हेर्ने हो भने नेपालले केपी ओलीको सरकारको तीन बर्षमा हालसम्मकै सबैभन्दा धेरै समृद्धि हासिल भएको छ,’ उहाँले भन्नुभयो–‘पार्टीबाट असहयोग हुँदा त सरकारले यस्तो उपलब्धी हासिल गरेको थियो भने पार्टीको सबै हैसियतलाई सदुपयोग गर्न सकेको भए के हुन्थ्यो होला अनुमान गर्न सक्छौं ।’
प्रचण्डको पदलोभले पार्टी फुट्यो : मन्त्री रायमाझी
भेलामा नेकपा स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्री नेता टोपबहादुर रायमाझीले संसद विघटनको स्थितिमा पुर्याउने मुख्य दोषी को हो भनेर चिरफार गर्नुपर्ने बताउनुभयो ।
उहाँले धेरै विषयमा भ्रम फैलाइएका कारण संकट उत्पन्न भएकाले आमनागरिकमा यसको वास्तविकता दिन आवश्यक रहेको बताउनुभयो ।
नेकपाकै प्रचण्ड–माधव समूहलाई इङ्गित गर्दै उहाँले पार्टी फुटाउनका लागि भ्रम फैलाएको बताउनुभएको हो । ‘भ्रमको खेती गर्नेहरुको हैसियत अहिले सडकमा छ, पछि गड्डामा खाडलमा जानुहुन्छ ।’ उहाँले भन्नुभयो–‘गड्डा के गड्डा, खाडलमा जानुहुन्छ ।’
नेता रायमाझीले एकताका प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्ने र प्रचण्डले पार्टी हेर्ने गरी जिम्वेवारी बाँडफाड भएको स्मरण गर्दै उहाँले अर्का अध्यक्ष प्रचण्डलाई पार्टीको जिम्मेवारी छाडेर प्रधानमन्त्री पदमा नजर डुलाएको आरोप लगाउनुभयो ।
‘पार्टी एकताका पाँच बुँदे आधार विपरीत प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीका पछि लाग्नुभएको छ ।’ उहाँले भन्नुभयोे ।
उहाँले चुनावमा जानुको विकल्प नभएको बताउँदैं संस्थापन पार्टी आफ्नो पक्ष रहेको संसद् पुनःस्थापना नहुने ठोकुवा गर्नुभयो ।प्रधानमन्त्रीविरुद्ध प्रस्तुत गरेको ‘आरोप पत्र’ नै पार्टी विभाजनको ‘आधार पत्र’ भएको उहाँको कथन थियो ।
भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले प्रचण्ड समूहले ल्याएको संगीन आरोप नै पार्टी विभाजनको मुख्य अंश भएको बताउनुभयो । उहाँले भन्नुभयोे – हामीले त्यो आरोप पत्र फिर्ता लिएर पार्टी मिलाउन बहस गर्न खोज्यौ उहाँहरु तयार नै हुनुभएन ।
मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेलले अब बिगतका गल्ती नदोहोरिने गरी पार्टी सुद्दढिकरण गर्न जरुरी रहेको र तीनै तहका सरकारले गरेका कामको नागरिकलाई जानकारी दिन जरुरी रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्