तपाईँ सुन्दै हुनुहुन्छः

किर्ते रसिद प्रकरण: एक जना पुर्पक्षका लागि जेल चलान, दुई जना धरौटीमा रिहा

बारा । बारामा जीतपुुरसिमरा उपमहानगरपालिकाको नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थको निकासी गरेको आरोपमा पक्राउ परेकामध्ये एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने दुई जना धरौटीमा रिहा भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा, बालगङ्गा, पसाहा खोलामा नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थको निकासी कर काटेको घटनामा संलग्नहरूलाई बारा प्रहरीले गत मङ्सिर १६ गते बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

उपमहानगरपालिकाको सरकारी छाप, नक्कली रसिद प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेको पाएपछि सिमरास्थित एक युवा क्लबले प्रमाणसहित जीतपुुरसिमरा उपमहानगरपालिकासँग कारबाहीको लागि दबाब दिइएको थियो ।

बारा प्रहरीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न पत्राचार गरेको थियो ।

प्रहरीको सक्रियता र ठेकेदार कम्पनीका कर्मचारी एवं कामदारहरूलाई पक्राउ गरेपछि खोला ठेक्का सकार गर्ने कम्पनीका मुख्य सञ्चालक कलैया उपमहानगरपालिका वडा नं.१६ का वडा अध्यक्ष शेषनाथ साह प्रहरीको सम्पर्कबाहिर थिए । बारा प्रहरीले निगरानी बढाए पनि उनीहरू त्यस बखत फेला नपरेको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

सो अवधिमा ठेकेदार साह भारतमा लुकीछिपी बसेको स्रोतले बताएको छ । अवैध रूपमा नदीजन्य पदार्थ निकासी करबापत तीन वटा खोलाबाट एकै दिनमा ५ देखि ७ लाखभन्दा बढी रकम उठ्न सक्ने भएकोले ठेकेदारले कर्मचारी, कामदारहरूलाई प्रयोग गरेको आरोप छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button