तपाईँ सुन्दै हुनुहुन्छः

पर्सागढी विजय उत्सव भव्य रुपमा मनाइयो

बीरगंज । पर्सागढी नगरपालिकामा आज विजय उत्सव मनाइएको छ ।पर्सागढी गाउँपालिकाको आयोजना तथा नेपाली सेनाको चण्डीप्रसाद गण बीरगंजको सहकार्यमा पर्सागढी विजय उत्सव मनाइएको हो ।

वि.सं. १८७१ पुस १९ गते बागवान्नाको स्थानीय बासिन्दा रञ्जित चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिस सेनाका कामाण्डर बेनेट मार्लीको टोलीमाथि विभिन्न युद्धकला लगाएर पराजित गरी हराएको ठाउँ भएकोले यसको ऐतिहासिक महत्त्वलाई जगेर्ना गर्न आजको दिनलाई विजय उत्सवको रुपमा मनाउन थालिएको हो ।

पर्सागढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य असिया देवी थरुनीले नेपालको अन्य गढी जस्तै पर्सागढीको महत्त्व र विशेषता महत्त्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिका, सम्पूर्ण पर्सेली जनता तथा व्यक्ति व्यक्तिको सहयोग हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले पर्सागढी हरपुर, जिगना, पचरुखी, बागेश्वरी तित्रौना र बागवन्ना गरी ५ वटा गाउँको धरोहर भएको बताउनुभयो ।

उहाँले १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सीमानामा आएर विश्राम गरी फस्ट जनवरीमा नयाँ वर्ष मनाइरहदाँ स्थानीय रञ्जित चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिघयाई खोलामा बाधेर ऐतिहासिक रुपमा ब्रिटिस सेनालाई पराजित गरेको स्थान भएको कुरामा जोड दिनुभयो ।

गोर्खाली सेना र गाउँले मिलेर ग्रामीण क्षेत्रमा प्रयोग हुने खुकुरी, भालालगायतका घरेलु हतियारले ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आजको दिन पर्सागढीबासीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको नगर प्रमुख यादवले बताउनुभयो ।

विजय उत्सवको अवसरमा पर्सागढी नगरपालिकाको कार्यालय हरपुरदेखि पर्सागढी मन्दिर स्थलसम्म नेपाली सेनाको चण्डीप्रसाद गण बीरगंजको सहयोगमा झाँकी निकालिएको थियो । सो अवसरमा परम्परागत हतियारहरूको प्रदर्शन तथा थारु, यादव र मधेसी समुदायको भेषभुषा, परम्परा झल्कने गरी झाँकी प्रदर्शन गरिएको थियो ।

विजय उत्सवको अवसरमा आज बिहान बीरगंज घण्टाघरबाट पर्सा गढीसम्म १९ किलोमिटर साइकल ¥याल सहितको साइकल यात्रा गरिएको चण्डीप्रसाद गण बीरगंजका गणपति मदन राणाले जानकारी दिनुभयो ।

कार्यक्रममा चण्डीप्रसाद गणका गणपति मदन राणासहित पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरी, पर्यटन व्यवसायी हरि पन्तलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button