कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीको स्वास्थ्य जाँचमा समस्या
जुम्ला । जिल्ला कारागार जुम्लामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी भएपनि विगत एक वर्षदेखि पद रिक्त हुँदा कैदीको स्वास्थ्य चेकजाँचमा समस्या भएको हो ।
जिल्ला कारागारमा हाल जम्मा १ सय १२ कैदीबन्दी रहेका छन । जसमा ३ महिला र १ सय ९ पुरुष छन । उनीहरूको उपचारका लागि एकजना अहेवको दरबन्दी छ ।
तर, गत वर्षको असोजदेखि हालसम्म दरबन्दी रिक्त हुँँदा सामान्य उपचारका लागि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धाउनुपर्ने बाध्यता रहेको जेलर प्रमुख गया प्रसाद पाण्डेले बताउनुभयो ।
स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चेकजाँचमा समस्या भोगिरहेका कैदीबन्दीले वर्षौदेखि खानेपानी तथा बिजुलीको समस्या पनि खेपिरहेको जेलर प्रमुख पाण्डेले जानकारी दिनुभयो । टुकीकै भरमा रात र तीला नदीको दुषित पानी पिएरै कैद जीवन बिताउनु परेको कारागार नाईके खाम्बा रावतले बताउनुभयो ।
कारागार विशेष क्षेत्र भएकाले पानी र बिजुली नियमित प्रदान गर्न सम्बन्धित निकायसँग पहल गरे पनि समस्या समाधान हुन नसकेको जेलर पाण्डेले बताउनुभयो । उहाँका अनुसार कारागारमा प्रयोग गरिने पानी जेनेरेटरबाट तिला नदीबाट ल्याउने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्