तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तर सुधारमा भक्तपुर अस्पताल ८२ अङ्क प्राप्त गरी अग्रस्थानमा

भक्तपुर ।  भक्तपुर अस्पताल यस बर्ष  प्रदेश अस्पतालहरूमा उत्कृष्ट अस्पताल हुन सफल भएको  छ । शुक्रवार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल मध्ये अग्रपङ्तिमा पर्न सफल भएको जानकारी दिइयो  ।

स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालहरूको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको एक सरकारी मूल्याङ्कन टोलीले मूल्याङ्कनको मापदण्ड अनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्याङ्कन टोलीले  भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा द्रुत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्याङ्कनमा भक्तपुर अस्पतालले ८२ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताउनुभयो ।

गत वर्ष यस्तै मूल्याङ्कनमा भक्तपुर अस्पतालले आफ्नो खराब अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनु परेको थियो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीले अस्पतालको सुधार सबैका लागि गौरवको कुरा भएको बताउँदै यस्तै अवस्था कायम राख्दै थप सफलताका लागि लागिपर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक रोशनी तुईतुईले कार्यक्रम र थप बजेट खोज्दै उत्कृष्ट सेवालाई निरन्तरता दिनुपर्ने र अझ उचाइमा पुर्‍याउन अस्पतालको सिङ्गो परिवार लाग्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेले भक्तपुर अस्पताल भक्तपुरवासीको अस्पताल मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकाका जनताको रोजाइको अस्पताल बन्ने पर्याप्त आधार देखिएको बताउनुभयो ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण राख्दै अस्पतालको पहिले र अहिलेको अवस्थाबारे सचित्र अवगत गराउनुभयो । गरे सम्भव हुने आफ्नो अनुभव साट्दै उहाँले सम्पूर्ण स्टाफ, सञ्चालक समिति, जनप्रतिनिधि र सबै तहका सरकारका सहयोगका कारण एक वर्षमै भक्तपुर अस्पतालले आफूलाई सुधार गर्न सकेको भन्दै सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य एवं भक्तपुर नगरपालिकाका वडाध्यक्ष रवीन्द्र ज्याख्वाले विगतमा भक्तपुर अस्पतालको दुरावस्थादेखि वाक्क भएर नगरपालिकाले छुट्टै ख्वप अस्पतालको अवधारणा ल्याएको भन्दै अस्पतालको गत वर्षको अङ्कले निराश बनेपनि यस वर्षको प्रगतिले सबैलाई हर्षित बनाएको बताउनुभयो ।

भक्तपुर अस्पतालले स्थापना र सञ्चालनको इतिहासमै ठुलो विकाश गरेको हो ।  अस्पताल सञ्चालनको ११६ वर्षपछि भक्तपुर अस्पताल आइसियु सेवा दिन समेत सफल भएको छ । आधा दर्जन भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको देखिन्छ भने अझै २ दर्जन बेडसहित अस्पतालले एचसीयु सञ्चालन गरेको छ ।

यस अघि भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल साबित भएको थियो । गत कात्तिकमा प्रदेशभरिको अस्पतालबाट छनौट गर्दा सबैभन्दा उत्कृष्टमा परेपछि भक्तपुर अस्पताललाई सामाजिक विकास मन्त्रालयले पुरस्कृत समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button