राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट सुरु

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजबाट शुरु भएको छ ।
बैठकको आरम्भमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो ।
बैठकमा सांसदहरुले उखु किसानको समस्यालाई दीर्घकालिन ढंगले समाधान गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

बैठकमा दिनानाथ शर्माले राजनीतिकदल बलियो भएमात्र लोकतन्त्र बलियो र संस्थागत हुने विश्वव्यापी अभ्यास रहेको बताउनुभयो ।
सांसद शर्माले पार्टी विभाजनबाट कोही पनि खुशी नभएको उल्लेख गर्नुहुँदै अझै पनि एक ठाउमा आउनसक्ने संभावना, समिकरण र रसायन छन भने पार्टी एकीकरणका लागि सबै प्रयासरत हुनुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय सभाको गौरब र गरिमालाई कायम राख्न सभ्य एवं सम्यमितढंगले सरकारलाई सहयोग, खबरदारी र निगरानी गर्नु आवश्यक रहेको सांसद शर्माले बताउनुभयो ।
सांसद शर्माले प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभाले जनसरोकार र जनचासोका विषयलाई अगाडी बढाउने बताउनुभयो ।
सांसद जितेन्द्रनारायण देवले नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त एकीकृत उपलब्धि संघीय गणतन्त्र नेपाल नै धरापमा पर्ने हो की भन्ने अवस्था उत्पन्न भएको बताउनुभयो ।
सांसद देवले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेको उल्लेख गर्नुहँुदै सर्वोच्च अदालतको फैसलालाई नेपाली काँग्रेसले आत्मसाथ गर्ने उल्लेख गनुभयो ।
उहाँले संविधानले राजनीतिक स्थायित्वको परिकल्पना गरेकोले बहुमत प्राप्त दलले नै संसद् विघटन गर्नु गलत रहेको भन्नुहुँदै यसले मुलुकमा राजनीतिक अन्योलता सिर्जना गरेको उल्लेख गर्नुभयो ।
सांसद प्रमिला कुमारीले सरकारले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नु गलत रहेकोले जनता समाजवादी पार्टीले यसको विरोध गरेको बताउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक यही पुस २३ गते दिनको १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्