कोरोना सङ्क्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमताका औषधी वितरण
कञ्चनपुर । महाकाली आयुर्वेद औषधालय कञ्चनपुरले दोधाराचाँदनी नगरपालिकामा कोरोना सक्रिय संक्रमित, संक्रमण निको भएका वा सङ्क्रमणको जोखिममा रहेका व्यक्तिहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी वितरण गरेको छ । नगरपालिका कार्यालयले तोकेको आइसोलेसन र होम आइसोलेसनमा रहेकाहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी वितरण गरेको दोधाराचांदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताउनु भएको छ ।
कोरोना भाइरस व्यवस्थापन कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सक विभागबाट जारी ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मार्गदर्शन’ अनुसार आइसोलेसन तथा क्वारेनटाइनमा रहेका कोरोना भाइरसका सक्रिय संक्रमित, संक्रमण निको भएका वा सङ्क्रमणको जोखिममा रहेका व्यक्तिहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधी वितरण गरिएको महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका डाक्टर ओंम प्रकाश कलौनीले बताउनु भएको छ ।
सक्रिय संक्रमित भएका १५ जनालाई आजै उनीहरू रहेका स्थानमा औषधी वितरण गरिएको महाकाली आयुर्वेद औषधालय कञ्चनपुरका डाक्टर ओंम प्रकाश कलौनीले बताउनु भएको छ । संक्रमित देखिएका तथा निको भएकाहरूलाई समेत औषधी वितरण गर्ने कार्यक्रम मिलाइएको बताइएको छ ।
दोधाराचांदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराका अनुसार दोधारा चाँदनी क्षेत्रमा अझै सम्म १ सय जनामा कोरोना संक्रमण देखा परेको छ । सक्रिय संक्रमित, संक्रमण निको भएका वा सङ्क्रमणको जोखिममा रहेका व्यक्तिहरूलाई शक्ति प्राश, अश्वगन्धा चुर्ण, गुडुची चुर्ण र त्रिकटु चुर्ण आयुर्वेद औषधी वितरण गरिएको महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरले जनाएको छ । मधुमेह र अम्लपित्त रोगीहरूलाई भने उक्त औषधी नखान भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्