तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा दुर्लभ वन्यजन्तुको चोरी सिकारी बढ्यो 

जाजरकोट । जाजरकोट जिल्लामा दुर्लभ वन्यजन्तुको चोरी सिकार दिन प्रतिदिन बढ्दै गएको छ । चोरी सिकारी बढेपछि जङ्गली जनावरको सङ्ख्या घट्दो अवस्थामा रहेको छ ।
बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडि, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिंगा, तिमीले लगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी सिकार भई रहेको वन्यजन्तु संरक्षण अभियन्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ ।
सिकारीले भरुवा बन्दुक, पासा थापेर, सिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन् । गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन सिंहले भन्नु भयो ।  जिल्लाका विभिन्न भेकमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाफे, चिर कालिज लगायत जङ्गली जनावर तथा पछींको दिन प्रतिदिन चोरी सिकारी बढेको छ ।
वन इकाईमा कार्यरत वन प्राविधिक तथा प्रहरीले चोरी सिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड ४ का गोविन्द्र वलीले बताउनु भयो । डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पूर्णबहादुर चन्दले चोरीशिकार नियन्त्रण गर्न डिभिजन बन कार्यालयले काम गरिरहेको बताउनु भयो । अतिक्रमण, डढेलो, चरी चरन लगायतका कारण वन विनाश बढेपछि जङ्गली जनावर तथा पक्षीको वासस्थान समेत नष्ट हुदै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button