सप्तरीमा १३० मानवअधिकार उल्लंघनका घटना

सप्तरी । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाहरूको विवरण प्रकाशन राजविराजमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
इन्सेक सप्तरीका अनुसार सन् २०२० को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा एक सय ३० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।
यस्ता छन घटना विवरणहरू
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार यस अवधिमा बढी चर्चामा रहेको घटनामा सामूहिक बलात्कारको घटना उजुरी गर्न डाक्नेश्वरी नगरपालिका– ७ ललितपुरका पञ्चहरूले रोक लगाए पछि सोही ठाउँकी १७ वर्षीया बालिकाले ०७७ भदौ ३० गते गरेको आत्महत्या घटनामा गिरफ्तार दुई बालक जिल्ला अदालतको असोज २७ गतेको आदेशमा पुर्पक्षका लागि बाल सुधार गृह वीरगन्जमा छन् । आत्महत्या दुरुत्साहन समेतको सो घटनामा पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डल जनही १ लाख १० हजार धरौटी राखेर असोज २७ गते र पुस ६ गते गिरफ्तार पञ्च शत्रुघ्न मण्डल पुस ८ गते २ लाख धरौटी राखी रिहा भएका छन् ।
राजगढ गाउँपालिका–४ बेल्ही टोलका १७, १६ तथा १५ वर्षीय बालक र १८ वर्षीय कन्तलाल सदालाई चोरीको आरोपमा ०७७ जेठ २९ गते गाउँलेहरूको पञ्चायतीको निर्णयले कृषि हाट सेडमा सार्वजनिक रूपमा दण्ड सजायस्वरुप ११/११ पटक बाँसको सिर्कनाले कुटपिट गरी २ हजार ५ सय रुपियाँ जरिबाना तिर्न लगाए । आरोपितहरूमाथि कारबाही भएन ।
बलान बिहुल गाउँपालिका–३ मौवाहाका २६ वर्षीय हरेकृष्ण साह र २४ वर्षीय चन्द्र यादवलाई ०७६ चैत १६ गते सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी मनोज चौधरीले निर्घात कुटपिट गरेको भिडियो र फोटोहरू सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भएपछि आरोपितमाथि कारबाही भयो ।
डाक्नेश्वरी नगरपालिका प्रमुख ६८ वर्षीय शिवनारायण साहमाथि ०७६ माघ २१ गते पाँच जनाले अमानवीय अपमानजनक व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार तीन जना माघ २९ गते जिम्मा जमानीमा रिहा भए । जिल्ला अदालतमा ०७७ कात्तिक २४ गते हाजिर भएका महेश्वरप्रसाद सोही दिन २५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भए ।
छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटी गाउँमा ०७७ जेठ २१ गते दुई समूहबिच भएको झडपमा प्रहरीसमेत दुवै पक्षका ३१ जना घाइते भए । दोहोरो झडप भई तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र आठ राउन्ड अश्रुग्याँस प्रहार ग¥यो । विवादका विषयमा छलफलबाट समस्या समाधान गर्ने र पुनः झगडा नगर्ने भनेर सहमति भयो ।
तिरहुत गाउँपालिका– २ मैनाकडेरीकी ४७ वर्षीया दाइमनदेबी यादवको हत्या आरोपित सोही ठाउँका २१ वर्षीय अजय कुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनपुर नगरपालिका– ११ ठेलियाका ५५ वर्षीय बमबहादुर भनिने रामनारायण साह तेली कात्तिक २० गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा छन् ।
सुरुङ्गा नपा–३ लक्ष्मीपुरकी २४ वर्षीया बसन्तीदेवी सदालाई साउन ७ गते मट्टितेल छर्की आगो लगाएर हत्याको प्रयास गरेको आरोपमा उनका पति २७ वर्षीय दिपेन भनिने दीपेन्द्र सदा भदौ ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । १० वर्षीया बालिकालाई फागुन २ गते मादक पदार्थ सेवन गरेका उनका बुवाले बलात्कार गरेको आरोपमा फागुन ४ गते उजुरी दर्ता भयो । आरोपित हालसम्म गिरफ्तार भएका छैनन् ।
सात वर्षीया बालिकालाई ०७७ मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतो अदालतको आदेशमा मङ्सिर २३ गते २५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भए ।
यो वर्ष गैर राज्यबाट ४ ओटा हत्याका घटनामा २ ज्येष्ठ नागरिक, एक दलितसहित चार पुरुषको हत्या भयो । आरोपित १८ जनामध्ये ६ जना थुनामा छन् भने १२ जना गिरफ्तार भएनन् । बालक हत्याको ३ वटा उजुरी परेकोमा एक घटनामा १ जना पुर्पक्षका लागि थुनामा र २ बालक जमानीमा रिहा भएका छन् । महिला हत्याको ४ घटनामा २१ देखि ६० वर्षका २० जना आरोपित रहे । आरोपितमध्ये ४ जना थुनामा छन्, ३ जना साधारण तारेखमा रिहा भएका छन् भने ४ जना हालै गिरफ्तार भएका छन् ।
यसै गरी महिला बलात्कारका १० घटनामा १८ देखि ३५ वर्षीया १० महिला पीडित भएका छन । एक सामूहिक बलात्कारसहित १० बलात्कारको घटनामा १९ देखि ३५ वर्षीय १२ जना आरोपितहरू छन् । जसमा ५ जना थुनामा र ६ जना फरार छन् ।
बालिका बलात्कारको २६ घटनामा ४ देखि १७ वर्षीया २६ जना बालिका पीडित भए । जसमा १ बालिकाले आत्महत्या गरिन । पीडितमध्ये ३ जना अपाङ्गता भएकी बालिका छन् । आरोपित ७ वर्षदेखि ४५ वर्षका ३४ जना छन् । आरोपितमध्ये १६ जना पुर्पक्षका लागि थुनामा र १ बालक बाल सुधार गृहमा छन् भने ७ र ८ वर्षीय २ बालकमाथि मुद्दा चल्न नसकेर अभिभावकको जिम्मा लगाइएको छ । १ जना धरौटीमा रिहा भएका छन् । आरोपितमध्ये १ जना अपरिचित र १ जना बालिकाका बुवा समेत गरी १४ जना गिरफ्तार भएका छैनन् ।
यो अवधिमा एक ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपित २० वर्षीय आरोपित गिरफ्तार भएका छैनन् । बालविवाहका ५ घटना जनप्रतिनिधि, प्रहरी, इन्सेक, बाल सञ्जाल र गाउँलेको पहलमा रोकिएको छ भने एउटा बाल तथा बहुविवाहको आरोपित २ जना फरार छन् ।
बालिका बेचबिखनका २ घटनामा १५, १४ र १३ वर्षीया बालिका पीडित भए । आरोपितमध्ये ४२ वर्षीया पुर्पक्षका लागि थुनामा र १६ वर्षीय बाल सुधार गृहमा छन् । अन्य ४५, १९ र १८ वर्षीय पुरुष हालसम्म गिरफ्तार भएका छैनन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १ महिला र १ पुरुष कार्यकर्ता ११ दिनसम्म गैर कानुनी थुनामा रहे ।
कोभिड–१९ नियन्त्रणका नाममा राज्यबाट ६ ओटा कुटपिट र दुर्व्यवहारका घटना भए । जसमा १८ जना पीडित बने । चार ओटा घटनाको उजुरी परेन भने २ घटनाका आरोपित २ प्रहरी र १ सशस्त्र प्रहरीमाथि कारबाही भयो ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत यो वर्ष ४ वटा घटना अभिलेख भएको छ । चार घटनामा दलित मुसहर समुदायको १४ घर, क्याम्पसको कुर्सी, जन्ती हिँडेको मोटरसाइकल र राजविराज नगरपालिकाको टिपरको सिसामा क्षति पुगेको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले सबैले आ–आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्ने र वर्ष पुस्तकमा मानवअधिकारको पक्षमा भएका सकारात्मक विषय समेट्नु पर्ने बताउनु भयो ।
राजविराज नगरपालिका उपप्रमुख साधना झाले नागरिकमा चेतना बढे मात्र विकासले स्थायित्व लिने भन्नु हुँदै काम टार्ने भन्दा विकास चाहने कर्मचारीको अभाव खट्किएको बताउनु भयो । जिल्ला अदालतका स्रेस्तादार कुमार मास्केले महिला सञ्जालहरू सशक्त बन्नुपर्ने जनाउँदै स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारबाट वञ्चित हुनु परेकोमा स्थानीय तहको ध्यानाकर्षण गर्नुभयो ।
नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले जनप्रतिनिधि, प्रहरी र अगुवाहरू नै गैर जिम्मेवार भएकाले अस्तव्यस्तता बढेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला महान्यायाधिवक्ता कैलाश दाहाल, एसपी राजेन्द्रप्रसाद धमला, नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य अवधेश झा, सगरमाथा कल्याण सङ्घका अध्यक्ष बलदेव मण्डल, एकल महिला समूहकी प्रदेश २ अध्यक्ष अनिता देवकोटा, सहयोगी समाजका रामप्रकाश चौधरी, राजविराज नगर बाल सञ्जालकी अध्यक्ष अनीषा ठाकुरलगायत अधिवक्ता, सञ्चारकर्मी, अधिकारकर्मीहरूले प्रतिवेदनमाथि टिप्पणी गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्