‘मलको समस्याको स्थायी समाधानका लागि प्रक्रिया अघि बढाइने’

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मुलुकको कृषि क्षेत्रले भोग्दै आएको रसायनिक मलको समस्याको स्थायी समाधानका लागि प्रक्रिया अघि बढाउने बताउनुभएको छ ।
कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आइतबार पदभार ग्रहण गरेपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री अर्यालले मलुकको कृषि क्षेत्रको प्रमुख समस्याको रुपमा रहेको रासायनिक मलको समस्या समाधान गर्न सातवटै प्रदेशमा २५–२५ हजार मेट्रिक टन क्षमताका मल भण्डारण केन्द्रको व्यवस्था गरिने समेत बताउनुभयो ।

कृषिमन्त्री अर्यालले वास्तविक कृषकको वर्गीकरण गरी आगामी फागुनबाट कृषक परिचयपत्र वितरण कार्य अघि बढाउने पनि उल्लेख गर्नुभयो ।
उहाँले कृषि मन्त्रालयबाट उपलब्ध हुने मल, बिउ, औजार, प्रविधि, अनुदान, कृषि बिमा र कृषि ऋण कृषक परिचयपत्रका आधारमा एकद्वार प्रणालीमार्फत वितरणको व्यवस्था गरिने पनि उल्लोख गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनालाई परिमार्जन गरी परिणाममुखी बनाउने गरी कार्यान्वयनमा ल्याइने मन्त्री अर्यालले बताउनुभयो । कृषकबाट उत्पादित वस्तुले उचित बजार नपाएको र पाएपनि उचित मूल्य नपाएको व्यापक रुपमा गुनासो आउने गरेको भन्दै उहाँले यसको समाधान गर्नका निम्ति पहल गरिने बताउनुभयो ।
हाल भइरहेको किसान आन्दोलनको समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी समाधान गर्न पहल थालिने कृषि मन्त्री अर्यालले बताउनुभयो ।











प्रतिक्रिया राख्नुहोस्