सहकारीको चर्को ब्याजदरको कारण विपन्न परिवारको उठीबास
बीरगंज । गरिब तथा विपन्न वर्गहरूको आर्थिक अवस्था उकास्ने नारासहित गठित समूह तथा ऋण सहकारी संस्थाको चर्को ब्याजदरको कारण पर्साको ग्रामीण क्षेत्रका विपन्न परिवारको उठीबास भएको छ ।
ग्रामीण क्षेत्रमा सञ्चालित आमा, किसान, दलित, महिलालगायतका विभिन्न समूहहरू तथा सहकारीमार्फत गरिएको ऋण प्रवाहले झन् गरिबी बढ्दै गएको छ ।
आर्थिक सुधारका लागि सञ्चालन गरिएका समूह तथा ऋण प्रवाहले झन् आर्थिक अवस्था दयनीय हुँदै जाँदा समूहका सदस्यहरु घर घडेरी, खेतबारी बिक्री गरी गाउँ नै छोडेर विस्थापित हुने अवस्थामा पुगेका छन् ।
समूहको बैठकबाट ऋणमार्फत ५ लाख रकम लिने र किस्ता र ब्याज तिर्न नसकी पुन गाउँ घरमा चलेको ३६ प्रतिशतको ब्याजले ऋण तिर्दा ३ वर्षमा दोब्बर हुने भएका कारण न बैकको ब्याज र सावाँ तिर्न सक्ने न त गाउँघरबाट लिएको रकम तिर्न सक्ने अवस्थाले घर घडेरी बिक्री गरी गाउँबाट विस्थापित हुने अवस्था सृजना भएको कालिकामाई गाउँपालिका वडा नम्बर २ का मुकेश सहनीले बताउनुभयो ।
वित्तीय संस्थाका कर्मचारीहरूले प्रतिमहिना ५ सयको दरले महिनावारी बचत पनि गर्न लगाएका छन् ।
ऋण लिएकाहरूले बचतको रकम तथा ऋणको किस्ता र ब्याज पनि तिर्नु पर्ने हुन्छ , यदि तिर्न नसके सबै महिलाहरू घरमा गई पक्राउ गर्ने र घरमा जे छ त्यही जफत गर्ने र गाउँमा बेइज्जती पनि हुने हुँदा घर छाडेर हिडनुको विकल्प नभएको कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी कान्ति देवी गिरीले बताउनुभयो ।
अहिले कालिकामाई गाउँपालिकामा समूहको ऋण तिर्न नसकी विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । ऋण तिर्न नसकी आफ्नो घर खेत बेच्दा पनि नपुगेको गुनासो आर्थिक अवस्था उकास्न समूहबाट ऋण लिएका व्यक्तिहरूले बताएका छन् ।
लोभ र लालचमा परी लहलहैमा महँगो ब्याज दरमा सहकारी संंस्थाहरुमार्फत ऋण लिँदा सेवा शुल्क अलग लिने गरेको र जग्गा दृष्टि बन्धक गराउँदा समूहका सदस्यहरु कै रकम लाग्ने भएका कारण सो ब्याज गाउँघरको ब्याजदरभन्दा बढी हुने गरेको पीडित प्रयाग सहनीले बताउनुभयो ।
समूहमा सेवा शुल्क र दृष्टि बन्धकको रकम फिर्ता नआउने भएपछि सो रकम सित्तैमा जाने तथा अन्त्यमा ऋणले नै उठीबास लगाउने स्थिति आएको समूहबाट चर्को ब्याजमा ऋण लिएर घर खेत बेच्न बाध्य भएका स्थानीयहरूले गुनासो गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्