तपाईँ सुन्दै हुनुहुन्छः

इलाम नगरपालिकाको शीतभण्डार प्रयोगविहीन

इलाम– नौ वर्षअघि इलाम नगरपालिकाले रु छ करोड खर्चेर शीतभण्डार बनायो । भारतीय दूतावासको आर्थिक सहयोगमा ठूलै तामझामका साथ जिल्लामा उत्पादित फलफूल, तरकारी भण्डारी गर्ने उद्देश्यले नगरले भवन बनाएको हो ।

भण्डारण बेगर लामो समय फलफूल र तरकारी नटिक्ने तथा जिल्ला बाहिरबाट भित्र्याउनु पर्ने समस्या हल गर्न शीतभण्डारण बनाइएको थियो । शीतभण्डार बन्यो तर अहिलेसम्म प्रयोगमा आएको छैन ।

भण्डारण गरेर नगरले फाइदा लिनुको साटो मासिक बिजुलीको महसुल तिर्नुपर्ने बाध्यता छ । इलाम नगरपालिका–९ मा रहेको शीतभण्डारको क्षमता दुई हजार टनको छ । शीतभण्डार प्रयोगमा नआउँदा भवन लड्ने अवस्थामा पुगेको छ ।

भवन प्रयोगमा ल्याउन नगरले केही प्रयास पनि गरेकै हो । ठेक्काका लागि सूचना निकालियो तर ठेक्का लागेन । त्यही कारण अहिले भवन प्रयोगविहीन छ । नगरका बासिन्दाले बाहिरबाट तरकारी आयात गर्छन् ।

शीतभण्डार बनाए पनि प्रयोग नहुँदा लागत रकम नाश भएको छ भने भवन बिग्रिने अवस्थामा पुगेको छ । नगरले दूरदर्शिता अपनाउन नसक्दा शीतभण्डार प्रयोगमा आउन नसकेको हो ।

एकपल्टमा एकैखाले उत्पादन मात्र भण्डारण गर्न मिल्ने ‘सिङ्गल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको हो । फरकफरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरकफरक नै तापक्रम आवश्यक पर्दछ ।

फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूललगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टि च्याम्बर’ बनाउनु पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले समस्या भएको कतिपयको आरोप छ ।

आफ्नै लगानीमा किवीको शीतभण्डारण

यता सदरमुकाममा करोडौँको शीतभण्डार त्यतिकै लडिरहेका बेला सन्दकपुर गाउँपालिकाका एक व्यक्तिले आफ्नै लगानीमा शीतभण्डार निर्माण गर्नुभएको छ । साथीभाइको सहयोग र आफ्नै सीपमा किवी किसान तारामणि खतिवडाले शीतभण्डार बनाउनुभएको हो ।

खतिवडाले किवीकै भण्डारणका लागि भवन बनाउनुभएको हो । आफ्नै बारीमा बनेको शीतभण्डारका लागि करिब एक महिना समय बनाउन लागेको खतिवडाको भनाइ छ । रु तीन लाखमा निर्माण भएको शीतभण्डारमा १० हजार किलो किवी भण्डारण गर्न सकिन्छ ।

गत वर्ष यो शीतभण्डारमा तीन हजार किलो भण्डार गरेको र यस वर्ष यसको क्षमता बढाएर १० हजार किलो किवी भण्डारण गर्ने बनाएको खतिवडाले बनाउनुभयो । स्थानीय स्रोतसाधन नै प्रयोग गरेर बनाइएको भण्डारमा छ महिनासम्म किवी भण्डार गर्न सकिने खतिवडाको जिकर छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button