जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जनकपुरधाममा अन्तरक्रिया
जनकपुरधाम । तराई मधेशका जिल्लाहरुमा शीतलहरको प्रभाव शुरु भएसंगै त्यसबाट आम जनतालाई जोगिन तथा जोगाउने उपायका बारेमा राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जनकपुरधाममा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।
खास गरेर चिसोका कारणले सबैभन्दा बढी प्रभावित रहने गरेको प्रदेश नंं २ लाई केन्द्रीत गरेर प्राधिकरणले प्रदेश नंं २ का सरकार, प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका पदाधिकारी एवं सञ्चारकर्मीहरुको सहभागितामा विपतबाट जोगिने उपायहरुका बारेमा प्राधिकरणले छलफल गरेको हो ।
कार्यक्रममा प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले विपदवाट आफ्ना नागरिकलाई जोगाउनका लागि स्पष्ट कार्ययोजनासहित तीन तहका सरकारका बीचमा सहमति, सहकार्य तथा समन्वय आवश्यक भएको बताउनु भयो ।
उहाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासहित कामकाज अगाडी बढाएको बताउँदै प्रभावकारी समन्वयका कारणले बारा तथा पर्साका हावा हुरीपीडिलाई छोटो समयमा उचित राहत दिन सकेको बताउनु भयो ।
प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानूनराज्यमन्त्री सरोज कुमार सिंहले प्राकृतिक विपदाको सामना तथा विपदामा परेकालाई राहत एवं उद्धारका लागि तीनै तहका सरकारका बीचमा सहकार्यको विकल्प नभएको बताउनु भयो ।
राष्ट्रिय विपद जोखि न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आउन लागेको शीतलहरबाट प्रदेश नंं २ का नागरिकलाई कसरी जोगाउन सकिन्छ भन्ने उद्देश्यले प्राधिकरणले पहिलो पटक काठमाडौ बाहिर कार्यक्रम प्रदेश नंं २ बाट गरेको बताउनु भयो ।
गृहमन्त्रालयका सहसचिव कृष्णहरि पुष्करले शीतलहर आउन लागेकाले यसबाट पर्ने प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले तीनै सरकारका बीचमा सहकार्य गर्नका लागि नै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।
कार्यक्रममा प्रकृति विपदाको विषयमा विपत विज्ञ डा. सुमन कुमार कर्ण, मन्त्रालयका उपसचिव जनार्दन पोखरेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरले विभिन्न विषयहरुमा जिज्ञासा राख्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्