तपाईँ सुन्दै हुनुहुन्छः

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम

काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलब ८६ मिटर कायम भएको छ ।

नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वाेच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् ।

नेपालले करीब दुई वर्ष लगाएर पहिलो पटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाइ मापन गरेको हो ।

यसअघिको सगरमाथाको उचाइ ८८४८ मिटर सन १९५४ मा सर्वे अफ इन्डियाले मापन गरेको थियो ।

गत वर्ष चीनका राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका क्रममा दुवै देशले मिलेर सगरमाथाको उचाइ घोषणा गर्ने सम्झौता भएको थियो ।

सगरमाथाको नयाँ उचाइ घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सगरमाथाको मापनले यसको आधिकारीक एवं वैज्ञानिक तथ्य प्राप्त भएको बताउनुभयो ।

परराष्ट्र मन्त्री ज्ञवालीले नेपालले केही समयअघि नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको स्मरण गर्नुहुँदै सगरमाथाको नयाँ उचाइ घोषणा अर्को महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले हिमालय पर्वत श्रृंखला २ अर्ब मानिसको खानेपानीको श्रोत भएकाले जलवायु परिवर्तनको जोखिमबाट जोगाउनु चुनौतीपूर्ण रहेको हुँदा यसमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको मापनबाट नेपालको भूमापन कार्यको लागि आवश्यक भूधरातलीय स्वरुप निर्धारण गर्न सहयोग पुगेको बताउनुभयो ।

विभिन्न देशहरुले गरेको उचाइ मापनमा सगरमाथाको उचाइ फरक फरक देखाएकोमा नयाँ मापनले सबै आशंका र दुविधाहरुको अन्त्य गरेको बताउनुभयो ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले आफ्नै स्रोत साधन र जनशक्तिको प्रयोगबाट विश्वको सर्वोच्च शिखरको मापन गर्नु विभागका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।

नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले एकैसाथ भर्चुअल रुपमा सगरमाथाको नयाँ उचाई घोषणा गर्नुभएको थियो ।

त्यस अवसरका सगरमाथाको उचाइ मापनमा योगदान पुर्याउनु हुने प्रमुख नापी अधिकृत खीमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्वेक्षक सुरज सिं भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button