तपाईँ सुन्दै हुनुहुन्छः

महानगरका लागि डिपिआर बनाउँदै नेपालगन्ज

बाँके । नेपालगन्जलाई महानगर बनाउने अवधारणा कार्यान्वयनका लागि नेपालगन्ज उपमहानगरपालिकाले औपचारिक प्रक्रिया अगाडि बढाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले महानगरको अवधारणा अगाडी बढाउँदै डिपिआर बनाउनका लागि कन्सल्टेन्ट नियुक्त गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले नेपालगन्जलाई महानगर बनाउनका लागि कन्सल्टेन्डलाई डिपिआर बनाउने जिम्मेवारी दिइसकिएको जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाको २०७५ साल साउन महिनामा भएको बोर्ड बैठकले नेपालगन्ज–कोहलपुर–खजुरालाई एकीकृत गरी महानगर बनाउन औपचारिक प्रक्रिया अगाडि बढाएको थियो । ‘त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट तयार गर्न कन्सल्टेन्टलाई जिम्मेवारी दिइएको छ’, नेपालगन्जका नगर प्रमुख डा. राणाले भन्नुभयो, ‘महानगरका लागि औपचारिक प्रक्रिया अगाडि बढिसकेको छ ।’

नगर प्रमुख डा. राणाका अनुसार, डिपिआरका लागि २५ लाख रुपैयाँ पनि छुट्याइएको छ । नेपालगन्ज आसपासका सबै स्थानीय तहसँग समन्वय गरी कुन–कुन भुगोललाई महानगरपालिका भित्र गाभ्ने भन्ने स्थलगत अध्ययन गर्न कन्सल्टेन्ट हायर गरिएको नगर प्रमुख डा. राणाले जानकारी दिनुभयो् ।

महानगरको एजेन्डामा उपमहानगरपालिकाले संघ र प्रदेश सरकारसँग छलफल यसअघि नै गरिसकेको छ ।

प्रदेश ५ मा तीन वटा महानगरको परिकल्पना गरिएकोमा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाउने नेपालगन्ज पहिलो हो । प्रदेश सरकारले नेपालगन्ज–कोहलपुर, दाङ्गको घोराही–तुल्सीपुर र रुपन्देहीको बुटवल–भैरहवा एकीकरण गरी तीन वटा महानगर परिकल्पना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button