बांकेमा अत्याधुनिक ‘शीत भण्डार’

बाँके । बाँकेको जानकी गाउँपालिका–४ मा साढे सात हजार टन क्षमताको अत्याधुनिक शीत भण्डार निर्माण भएको छ । शीत भण्डार नहुँदा तरकारी, फलफूल र जडीबुटीको छिट्टै गुणस्तर खस्कने र सड्ने समस्याका कारण नोक्सानी खेप्दै आएका व्यवसायीहरुले २५ करोड ३९ लाख रुपैयाँको लागतमा शीत भण्डार निर्माण गरेका हुन् ।
कृषि र जडीबुटी व्यवसायमा संलग्न नेपालगन्जका आठजना उद्यमीहरुले निजी लगानीमा निर्माण गरेका शीत भण्डार करिब दुई बिघा क्षेत्रफलमा निर्माण भएको छ । नेपालगन्ज कोल्ड स्टोरेज एन्ड बेयर हाउजिङ प्रालिमा चार वटा च्याम्बर रहेको छन् । चारवटै च्याम्बरमा छुट्टाछुट्दै तापक्रममा तरकारी, फलफूल र जडीबुटी भण्डारण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
भण्डारले सिजनअनुसार एक किलो फलफूल तथा तरकारीको एक महिना भण्डारण गरेबापत करिब एक रुपैयाँका दरले शुल्क लिने गरेको छ । शीत भण्डारमा २४ सै घण्टा तापक्रम घटबढ हुन नदिन जेनेरेटरको व्यवस्था गरिएको छ । शीत भण्डारको निर्माणपछि व्यवसायीहरुले स्याउ, सुन्तला, बदाम, आलु भण्डारण गर्न थालेका छन् ।






प्रतिक्रिया राख्नुहोस्