व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कृषकहरू
कञ्चनपुर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारणले अधिकांश नागरिकको जीवन प्रभावित भएको छ । यद्यपि यो समयमा समेत सक्रिय सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले दिएको तालिमबाट कञ्चनपुरका केही कृषकहरू व्यावसायिक तरकारी खेती गरी आत्मनिर्भर बनिरहेका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ४ बगुनका पदम सिंह कार्की बेरोजगार हुनुहुन्थ्यो । कोरोना कहरका कारण जोखिम मोलेर अन्यत्र मजदुरी गर्न जाने उहाँलाई इच्छा लागेन । सोही अवधिमा निड्स नेपालले बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप प्रवर्धन परियोजना अन्तर्गत बेमौसमी तरकारी उत्पादन तालिम सञ्चालन गरेपछि उक्त तालिममा सहभागी भई हाल उहाँ व्यावसायिक तरकारी खेतीमा लागि रहनुभएको छ ।
सोही तालिममा वेदकोटका २० जना कृषकहरू सहभागी हुनुभएको छ । सबै मिलेर सामूहिक तरकारी खेती र अधिकांशले व्यक्तिगत रुपमा पनि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहनु भएको छ । तर कृषकहरूका लागि मलखाद, विउविजन र औजारको अभाव, बजारीकरणको समस्या तथा छिमेकी देशबाट आयात गरिने तरकारी चुनौतीका रुपमा रहेको छ । कृषकहरूलाई सरोकारवाला निकायले सहयोग गरिदिनु पर्ने वेदकोट नगरपालिका ४ बैतडीका कृषक गीता साउँदको भनाइ छ ।
आफ्नै क्षेत्रमा व्यावसायिक तरकारी खेतीमा लागेका कृषकहरूका समस्या समाधानका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले सक्दो सहयोग गर्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका बागवानी अधिकृत हरिसिंह बिष्टले बताउनु भयो
युरोपियन युनियनको आर्थिक सहयोग, ब्रिटिस काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा निड्स नेपालले कञ्चनपुर, कैलाली र बझाङ जिल्लाका विभिन्न क्षेत्रमा रहेका कृषकहरूलाई व्यावसायिक कृषि पेसामा उत्प्रेरित गर्न तालिम सञ्चालन गरिरहेको छ । कृषकहरूका समस्या समाधानका लागि सरोकारवाला निकाय सक्रिय भएमा विदेशबाट तरकारी आयात गर्न नपर्ने गरी यहाँका कृषकहरू स्वरोजगार र आत्मनिर्भर बन्ने देखिन्छन् ।








प्रतिक्रिया राख्नुहोस्