कर्णाली प्रतिष्ठानको तालाबन्दी ४३ दिनपछि खुल्यो
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला भएको तालाबन्दी ४३ दिन पछि बल्ल खुलेको छ । डिन नियुक्तीका बारेमा विबाद हुँदा प्रतिष्ठानको केन्द्रीय कार्यालय जूम्लाको शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ पछि खुलेको हो ।
प्रतिष्ठानको कार्यकारी परिषद्को बैठक विनै प्रतिष्ठान सम्पर्क कार्यालयबाटै उपकुलपति प्रा.डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेका थिए ।
कल्याणकारी समाज र उपकुलपति सहितका पदाधिकारीको टोलीबीच बुधबार भएको तीन बुँदे सहमति र वार्तापश्चात् ताला खुलेको समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिनुभयो ।
नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेस गर्ने सहमति भएको छ ।
त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायक डीन रहने सहमति भएपछि ताला खोलिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो ।
त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति भएको र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेर काम गर्ने सहमति भएको छ ।
गत २६ असोजमा प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा.डा मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए ।
प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारीले बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भए अनुसार हुनुपर्ने भन्दै कर्मचारीहरू आन्दोलन गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्