तपाईँ सुन्दै हुनुहुन्छः

धानको समर्थन मूल्य नपाएपछि किसानहरु चिन्तित

जनकपुरधाम । सरकारले किसानको लागतलाई ध्यानमा दिएर तोकेको धानको समर्थन मूल्य पनि किसानले पाउन नसकेपछि धनुषाका किसानहरु चिन्तित बनेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय ईकाई धनुषाको आयोजनामा दुई दिने प्रथम चौमासिक समीक्षा कार्यक्रमको आज भएको समापनमा सहभागी अगुवा किसानहरुले सरकारले तोकेको मूल्यमा धान विक्रि हुँदा पनि लागत उठन कठिन हुने बताउनु भएको छ ।

नेपाल सरकारले यस वर्ष धानको रोपाई हुने बेलामा नै समर्थन मूल्य तोकेपछि खरिद गर्ने संस्थाको अभाव भएपछि किसानहरु नीजि क्षेत्रका व्यवसायीहरुलाई सस्तो दरमा धान वेच्नका लागि बाध्य भएको जनकपुरधाम वडा नंं १५ का किसान लक्ष्मी यादवले जानकारी दिनु भयो ।

धनुषामा सञ्चालनमा रहेका धानजोन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार यादवले सरकारले तोकेको मूल्यमा धानको विक्रि गर्दा पनि लागत मूल्य धनुषाको हकमा उठाउन कठिन भएको र समर्थन मूल्यमा खरिद गर्ने निकायको अभाव रहेकाले किसानहरु मारमा परेको बताउनु भयो ।

यस पटक रसायनिक मलको अभाव हुदा पनि मौसम अनुकूल रहेका कारणले धानको उत्पादन अपेक्षित रुपमा राम्रो नै रहेकाले सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गरिदिनका लागि सरकारी कम्पनीसंग आग्रह पनि गर्नुभयो ।

भारतमा धान नेपालको भन्दा सस्तो भएपनि यस पटक अन्तराष्ट्रिय सीमा नाका बन्द रहेकाले आउने सम्भावना ज्यादै न्यून भएको कृषि ज्ञानकेन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिनु भयो ।

नेपाल सरकारले नै व्यापार कम्पनी मार्फत धान खरिद गरेको खण्डमा किसानलाई थोरै भएपनि राहत हुने कृषि विभागका पूर्व महानिर्देशक विजय मल्लिकले जानकारी दिनु भयो ।

नेपाल सरकारले यस पटक मसिनो धानको मूल्य प्रति क्वीन्टल २ हजार ८ सय ८५ रुपैपा तथा मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ७ सय ३५ तोकेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको प्रदेश नंं २ का समन्वय ईकाईका प्रमुख एवं बरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले जानकारी दिनु भयो । परियोजनाले विभिन्न सहकारी संस्थालाई सरकारले ताकेको समर्थन मूल्यमा धान खरिद गरिदिनका लागि अनुरोध समेत गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button