‘रुग्ण उद्योगको पहिचान र वर्गीकरण गर्न स्थायी संयन्त्र आवश्यक’
काठमाडौं । नेपाल उद्योग परिसंघले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सुविधा, सहुलियत तथा छुट र संस्थागत व्यवस्थाका लागि सरकारले स्थायी संरचना निर्माण गर्नुपर्नेमा जोड दिएको छ ।
रुग्ण उद्योगको अध्ययन गरी प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको समितिसंग सोमबार भएको छलफलमा परिसंघले स्थायी संरचना आवश्यक भएको जोड दिएको हो ।
छलफलमा परिसंघका अध्यक्ष सतिसकुमार मोरले रुग्ण उद्योग सम्बन्धी समस्या समाधान गर्न अधिकार सम्पन्न र उच्चस्तरीय स्थायी प्रकृतिको समिति गठन गरी स्थायी समाधान खोज्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
पूर्ण रुग्ण उद्योगहरुलाई सहज रुपमा बहिर्गमनका लागि आवश्यक स्पष्ट नीतिगत तथा कानूनी व्यवस्थाका लागि सिफारिस गर्न पनि अध्यक्ष मोरले समितिसंग आग्रह गर्नु भयो ।
अध्यक्ष मोरले त्यस्तो नीतिले रुग्ण अवस्थामा पुगी हाल सञ्चालनमा नरहेका र भविष्यमा समेत सञ्चालन हुने सम्भावना नभएका उद्योग व्यवसायलाई ऋणबाट मुक्त गर्नका लागि नेपाल राष्ट्र बैंकको अग्रसरतामा एक्जिट नीति अबलम्वन गर्न आवश्यक भएको बताउनु भयो ।
छलफलमा समितिका संयोजक दिपक सुवेदीले रुग्ण उद्योगको सम्बन्धमा परिसंघले दिएका महत्वपूर्ण सुझावलाई समितिको प्रतिवेदनले समेट्ने विश्वास दिलाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्