तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा लैजान प्रक्रिया अगाडि बढ्यो 

कञ्चनपुर  । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा लैजान प्रक्रिया अगाडि बढाइएको छ ।
महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपालिकाको साझेदारीमा सञ्चालन गर्ने गरी महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा  लैजान आवश्यक प्रक्रिया थालिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरले बताउनुभयो ।
बिहीबार प्रतिनिधिसभा सदस्य डा. दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू प्रकाश रावल, मान बहादुर सुनार, लालबहादुर खड्का र महेश दत्त जोशी, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरू तामाङ तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टसहित अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूको संयुक्त बैठकमा समेत आवश्यक प्रक्रियाका विषयमा वृहत् छलफल भएको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सोही बैठकले पिसिआर ल्याब सञ्चालनका लागि आर्थिक सम्बन्धमा र शिक्षण प्रतिष्ठानका बारेमा तिहार लगतै सम्बन्धित मन्त्रालयहरूमा जाने निर्णय समेत गरेको छ ।
यसअघि, महाकाली प्रादेशिक अस्पताल र भीमदत्त नगरपालिकाले शिक्षण अस्पतालका लागि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पत्राचार गरिसकेको छ ।
मन्त्रालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) सानो ठिमी भक्तपुरमा आवश्यक पहल गरिदिन समेत अनुरोध गरिएको छ । तीन वर्षे  विभिन्न ७ वटा विषयका लागि सिफारिस गरिएको अध्यक्ष जोशीको भनाइ छ ।
प्रारम्भिक सहमति अनुसार प्राविधिक तर्फ महाकाली प्रादेशिक अस्पताल र भौतिक पूर्वाधारतर्फ भीमदत्त नगरपालिकाले जिम्मेवारी लिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button