निःशुल्क धान बालीको कटान सुरु
सप्तरी । धान काट्ने जनशक्ति नपाइने भएकोले किसानलाई सहुलियत दिने उद्देश्यले मंगलबारदेखि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले निःशुल्क धानबालीको कटान सुरु गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण धान काट्ने जनशक्ति नपाएको तथा पाकी सकेको धानबाली खेतमै झरेर नोक्सानी हुन सक्ने भएकोले किसानहरुलाई सहयोग गर्ने उद्देश्यले धानबाली निःशुल्क काटिदिने निर्णयमा पुगेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभएको छ ।
चार वटा मेसिन लगाइ वडा नं. ६ को. मधेपुराबाट मंगलबारदेखि धानबालीको कटान थालिएको उहाँले बताउनुभयो ।
एउटा वडामा दुई वटा मेसिनमार्फत धानबाली कटान गरिने र त्यसका लागि गाउँपालिकाका सबै किसानलाई खबरसमेत गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो , “कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न एकातिर हामी सबै लागेका छौं भने अर्कोतिर किसानले निकै लगानी र महिनेत गरी लगाएको धानबाली समयमै काट्न नसक्दा समस्या हुने देखेर गाउँपालिकाले निःशुल्क रुपमा कटान सुरु गरेको हो ।”
गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले गाउँपालिकाले चार वटा ट्याक्टर र चार वटा रिपर मेसिन खरिद गरी धानबालीको कटान सुरु गरेको बताउनुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले गाउँपालिकाको ८ वटै वडामा गरी करिब एक हजार पाँच सय विघाभन्दा बढीमा लगाइएको धानबालीको कटानको खर्च गाउँपालिकाले ब्यहोर्ने र मेसिन लगाएर काटिने गहुँ सम्बन्धित किसानले आफै भित्र्याउने जानकारी दिनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का खुशेश्वर यादव हर्षित हुँदै भन्नुहुन्छ्, “धान काट्ने जनशक्ति नपाइरहेको अवस्थामा गाउँपालिकाले सबै किसानको धान निःशुल्क काटिदिने निर्णय गरेपछि हामीलाई धेरै सहुलीय भएको छ ।”
यसअघि लकडाउनको कारण किसानको खेतमै रहेको गहुँबाली गत चैत महिनामा गाउँपालिकाले खर्च ब्यहोरेर कटान गरिदिएको थियो । सात सय विघाको गहुँबाली कटान गर्ने लक्ष्य लिएपनि करिब अढाई सय विघामा लगाइएको गहुँबाली कटान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्