संकलित खोटो तीन वर्षदेखि निकासी नहुँदा मजदुर मारमा

सल्यान- जिल्लाका विभिन्न सामुदायिक वनमा संकलन गरिएको सल्लाको खोटो तीन वर्ष वितिसक्दा पनि निकासी हुन सकेको छैन ।
बिभिन्न सामुदायिक वनमा संकलन गरिएको खोटो निकासी नहुँदा मजुदर र ढुवानीकर्ताले ज्याला पाउन सकेका छैनन । सामुदायिक वनमा संकलन गरेको खोटो संकलन गर्ने कम्पनीले निकासी नगर्दा वन समुहले रोयल्टी पाउन सकेका छैनन भने आर्थिक रुपमा ठूलो क्षती भएको बन उपभोक्ता समितिहरुले गुनाासो गरेका छन् ।
सल्यान शारदा नगरपालिका ४ सुनटाकुरामा रहेको सालघारी सामुदायिक वनमा २०७५ साल देखी मनकामना रोजिन एण्ड केमिकल्स उद्योग प्रा.लिले खोटो संकलन निर्यात गर्ने भनेर सामुदायिक बन सँग सम्झौता गरेको थियो । सालघारी सामुदायिक वनका अध्यक्ष रोमप्रकाश थापाले सामुदायिकव वनबाट ६ सय ३० टिन खोटो संकलन गरेको भएपनि अहिले सम्म पनि संकलित खोटो कम्पनीले नलिएको वताए । उनले भने ‘कम्पनीले खोटो निर्यात नगरी दिदा अहिलेसम्म वन समुहले रोयल्टी र मजदुरले ज्याला पाउन सकेका छैनन ।’
यस्तै शारदा नगरपालिका १३ स्यानीखालमा रहेको घोरनेटी सामुदायिक वनमा पनि ३ बर्ष पहिले संकलन भएको खोटो कम्पनीले वेवास्था गर्दा निकासी हुन सकेको छैन । विगत ३ बर्ष देखि मजुदर र ढुवानीकर्ताले ज्याला पाएका छैनन । घोरनेटी सामुदायिक वनका अध्यक्ष छविलाल रोकाले खोटो संकलनका लागि सम्झौता गरेको कम्पनीले अहिले कुनै वास्ता नगरेको वताए । उनका अनुसार सामुदायिक वनले पाउने पर्ने रोयल्टी र कामदारले पाउने ज्याला झन्डै १७ लाख रहेको छ ।
जिल्लाका साजखर्क सामुदायिक वन, बाघपाली सामुदायिक वन, सरस्वती सामुदायिक वन लगाएतका सामुदायिक बनमा संकलन भएको खोटो निकासी नहुदाँ समस्या भएको छ । कम्पनीमा सम्पर्क गर्दा पनि अहिलेसम्म कम्पनी सम्पर्क विहिन अबस्थामा रहेको छ । मनकामना रोजिन एण्ड केमिकल्स उद्योग प्रा.लि बिगतमा राम्रो सहकार्य गर्दै आएका उद्योगका अभिनन्द प्रसाद गुप्ता अहिले सम्पर्क विहिन भएको सामुदायिक वनहरुले जनाएका छन् ।
डिभिजन वन कार्यालय सल्यानले खोटो निकासी र मजदुरको ज्यालवारे कम्पनीमा पत्रका गरे अहिले सम्म सम्पर्क नआएको जनाएको छ ।
डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले संकलित खोटो वन समुहको सम्पत्ति भएकाले खोटो संकलनका लागि सम्झौता गरेको कम्पनीले समयमा लिन नआएमा नयाँ प्रक्रिया अघि वढाउन सकिने वताए । सल्यानका करिब ३ सय वनमा मनकामना, देउती बज्यै, गंगा रोजिन, गणपति, बगंलामुखी लगायत कम्पनीले खोटो संकलन गर्दै आईरहेका छन् । यहाँबाट बार्षिक २५ लाख किलो खोटो निकासी हुने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्