तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लाका ज्येष्ठ नागरिकले भत्ता पाएनन्

जुम्ला  । पहिलो चौमासिकको असोज महिनामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यविधिमा व्यवस्था छ । तर जुम्लाका ज्येष्ठ नागरिकले यसपाली कार्तिक महिना अन्त्य सम्ममा पनि भत्ता नपाएपछि आन्दोलनमा उत्रिएका छन् । विगतका वर्षमा दसैँ अगाडी नै भत्ता बुझेका जेष्ठनागरिले पहिलो चौमासिक बित्न लागिसक्दा पनि भत्ता नदिएपछि आन्दोलनमा उत्रिएको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताउनु भयो ।
उहाँले भन्नुभयो,“बितेको दसैँमा आठै स्थानीयतहका हजारौँ ज्येष्ठ नागरिकले भत्ता पाउने आशा गर्दा गर्दै नदिएपछि निराशामै दसैँ मनाए । तिहारसम्म भत्ता पाउने आशा थियो । तर तिहार नजिकिँदा पनि  भत्ता दिने सुर छैन ।”
सङ्घीयतापछि ज्येष्ठ नागरिकहरूका सवालमा वकालत गर्ने निकाय घटेका छन् । अध्यक्ष भारतीले भन्नुभयो, “ज्येष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता कोही पनि छैनन् ।”
पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाइ नगरेपछि नगरक्षेत्रभित्रका जेष्ठनागरिक आन्दोलित भएको चन्दननाथ नगरपालिका ५ का ७८ वर्षीय पूर्णबहादुर खत्रीले बताउनुभयो ।
जेष्ठनागरिक सबै भत्तामा आश्रित छन् । स्थानीय सरकार भत्ता वितरण पटक पटक छलकपट गर्न थाल्यो । गएको दसैँ त जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको खत्रीले उल्लेख गर्नुभयो ।
भत्ता आए नआएको वितरण कहिले हुन्छ भन्ने बारे नगरपालिकामा सोधपुछका लागि जाँदा पनि कर्मचारीले मगन्तेको व्यवहार देखाउने वास्ता नै नगर्ने गरेको समेत उहाँले गुनासो गर्नुभयो । नगरपालिकाका ज्येष्ठ नागरिक आन्दोलित भए पनि गाउँका ज्येष्ठ नागरिकहरू भने मन पिरोली बसेका छन् ।
तातोपानी २ की बुद्धि दमाईले भनिन्, “खाता नखोलेकालाई भत्ता नदिने भनेर खाता पनि खोल्यौ तर दसैँ तिहार जस्ता महान् पर्वमा पनि भत्ता नपाउनु कस्तो विडम्बना हो ।” सबै क्षेत्रका लागि बजेट हुने तर ज्येष्ठ नागरिकका लागि मात्रै कन्जुसाई किन होला भन्दै चाडै भत्ता दिन उहाँको माग छ । ६२ वर्षीय दमाईले थपिन्, ‘छोरा भारतमा छ, कमाउने कोही
 छैन, दसैँ नरमाइलो नै भयो । तिहार भत्ता आउला सोचेको नआउने भयो । म बुढी मान्छे कहाँ ऋण मागेर तिहार मनाउ ।’
चन्दननाथ नगरपालिका पञ्जिकरण शाखाका प्रमुख भक्तीलाल बुढाका अनुसार नगरपालिकाका जेष्ठनागरिकलाई तिहार अगावै भत्ता वितरण गरिने छ । दसैँमा निकासा नआएकाले वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । चन्दननाथ नगरपालिकामा ७ सय २० जना ज्येष्ठ नागरिक, ३ सय ४५ एकल महिला, एक हजार ४ सय बालबालिका र १ सय ६६ जना अपाङ्ग व्यक्ति छन् । सबैलाई तिहार अगाडी नै भत्ता दिइने बुढाको भनाई छ । हरेक दसैँमा पाई रहेका ज्येष्ठ नागरिकले यसपालि नपाउँदा आन्दोलन गर्नु स्वाभाविक रहेको नगरपालिकाको भनाई छ ।
यता तातोपानी गाउँपालिका ज्येष्ठ नागरिक शाखा प्रमुख बालकृष्ण बुढा भन्छन्, “तातोपानी गाउँपालिकामा पनि निकासा कम आउँदा भत्ता वितरण रोकिएको छ । पहिलो चौमासिकमा १ करोड ८० लाख चाहिनेमा १ करोड १० लाख मात्रै आयो । ७० लाख अभाव छ मन्त्रालयमा थप निकासाका लागि अनुरोध गर्दा नआएकाले समस्या भएको हो ।”
चन्दननाथ नगरपालिका बाहेक जुम्लाका अन्य सातै तहमा बजेट निकासा कम आएकाले तिहारमा पनि भत्ता वितरण नहुने भएको छ । जुम्लाभरिकै ज्येष्ठ नागरिक भत्ता नपाउँदा मर्कामा छन् ।
तातोपानीमा ज्येष्ठ नागरिक १२ सय जना, एकल महिला २ सय १३,क वर्गका अपाङ्ग १५ जना, ख वर्गका ७५ र बालबालिका २ हजार १ सय २० जना छन् । यी सबैलाई तिहार लगत्तै भत्ता वितरणका लागि पहल भइरहेको बुढाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button