पाल्पामा तिहारका लागि फूल तयार

पाल्पा । पाल्पामा तिहारका लागि आवश्यक पर्ने फूल तयार भएको छ ।
तिहारलाइ लक्षित गरी यहाँका पुष्प कृषकहरुले फूल तयार गरी बिक्रिका लागि तयारी अवस्थामा राखेका हुन ।
तिहारको लागि बिशेष गरी सयपत्री, मखमली, गुर्दाैली फूलको प्रयोग गरिन्छ ।
माथागढी गाउँपालिका–२, रुप्सेका किसान दामोखर घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गर्नुभएको छ । कृषक घर्तीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुष्प व्यवसाय सुरु गर्नुभएको हो ।
‘फूल खेतीको पनि नेपालमा प्रशस्त सम्भावना रहेको छ । सरकारले भारतबाट फूल नल्याउने बताएको छ । कृषकका लागि खुसीको कुरा हो । सरकारले विचौलियाको पनि व्यवस्थापन गर्नुपर्छ ’ किसान घर्तीको भनाइ छ ।’
सधैं आलू खेती गरिने जग्गामा फूल खेती गर्दा यहाँका अन्य किसान भने आश्चर्यमा परे । कतिपयलाई फूलले बजार पाउने कुरामा आशंका व्यक्त गरे । तर घर्तीको खेतमा फुलेको फूल हेर्न र खरीद गर्न समेत टाढाटाढाबाट व्यापारीहरु आउन थालेका छन् ।
उँहाले दशैं र तिहारका लागि दुई थरी फूल फूलाउनुभएको छ । दशैंमा केही फूल बिक्री भइसकेको छ । तिहारका लागि तयारी अवस्थामा दुई रोपनी क्षेत्रफलमा फूलहरु फूलेका छन् । एउटा मालाको एक सयदेखि एक सय पचास रुपैयाँसम्ममा घरबाटै बिक्री हुने कृषक दामोदर घर्तीको भनाई छ ।
जिल्लाको तानसेन, वगनाशकाली, रामपुर, माथागढी, भैरवस्थान क्षेत्रमा फूल खेती गरिँदै आएको छ ।
माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले पुष्प खेतीलाई व्यावसायिक बनाउन सकेको अवस्थामा राम्रो आयआर्जन गर्न सकिने बताउनुहुन्छ ।
उहाँले गाउँपालिकामा व्यवसायिक पुष्प खेती गर्ने युवालाई गाउँपालिकाले प्रोत्साहनका कार्यक्रममा ल्याउने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्