तपाईँ सुन्दै हुनुहुन्छः

मंसिर ६ गते नेपालगञ्जमा छैठौं धारा नेपालगञ्ज म्याराथन हुने

नेपालगञ्ज । आगामी मंसिर ६ गते नेपालगञ्जमा छैठौं धारा नेपालगञ्ज म्याराथन हुने भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

उक्त म्याराथन जित्ने खेलाडी जापानमा सन् २०२१ मा हुने ओलम्पिकमा सहभागी हुन पाउने नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिनुभयो । उहाँले नेपालगञ्ज म्याराथनलाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनौटको रुपमा लिइएको बताउनुभयो ।

आयोजक क्रियटिभ ह्याण्ड्सले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता बनाउन सुझाव दिनुभयो ।

टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रवन्धक प्रदिप छाजेड, सहप्रायोजक आशिर्वाद पेन्ट्सका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य बैंकका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउँदै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले यसपाली दुई वटा मात्रै इभेन्ट सञ्चालन हुने जानकारी दिनुभयो ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइन्। गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button