पानीको जोहो गर्न मिटरसहितको धारा

दोलखा । दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर २ झुलेको केही टोल बस्ति, प्रत्येक घरमा धारा छ र धारामा मीटर जोडिएको छ, पानीको जोहो गर्न मीटर राखिएको रे – झुले खरीढुङ्गाकी तारा थापाले मीटरको रहस्य खोल्नुभयो ।
साच्चै मीटर देखेपछि पैसा कति उठ्ने हो भन्ने डरले अनावश्यक पानी चलाउनै मन लाग्दैन रैछ – ताराले आफ्नो अनूभव पनि सुनाउनुभयो ।
तामाकोसी वडा नम्बर २ झुलेको छ वटा टोल वस्ति खरीढुङ्गा, डाँडागाँउ, भिरमुनी, पाँचघरे, ओख्रेनी र हल्लेनीडाँडाको ९६ घर धुरीमा अहिले एकीकृत वास, जलवायु अनुकुलन र विपद् जोखिम न्युनिकरण कार्यक्रम अन्र्तगत सामुदायीक विकास मञ्च नेपालको मुख्य आर्थिक सहयोगमा तामाकोसी गाँउपालिकाको आर्थिक सहयोग र स्थानीय उपभोक्ता समितिको श्रमदान समेत गरी मिटर सहितको धारा जोडिएको छ ।
गाँउमा रहेका दुई वटा मुहानको पानी जम्मा गरी व्यवस्थित रुपमा वितरण गर्न आठ वटा ट्याङ्की समेत निर्माण भएका छन् । जसको संरक्षण र सञ्चालन गर्ने जिम्मेवारी जयको धारा खानेपानी तथा सरसफाई आयोजना र पारीपाखा खानेपानी तथा सरसफाई आयोजनालाई दिइएको छ ।
स्थानीय हेमकुमारी कार्की विगतमा पानीको लागि एक विहान बिताउनु पर्नेमा अहिले घरमै मिटरसहितको धारा जोडिएकोले पानीको लागि निक्कै सहज भएको बताउनुहुन्छ ।
धारा त २०४१ सालतिर पनि आइएचडिपि भन्ने संस्थाले बनाई दिएको हो, तर त्यो बेला हामीले न धाराको जतन गर्न सक्यौ, न पानीको जोहो नै, हेमकुमारीले भन्नुभयो – अहिले धारासँगै मिटर समेत जोडिएकोले त्यसैको डरमा धाराको पनि जतन भएको छ, पानी पनि निक्कै फारो गरी चलाउन थालिएको छ ।

अहिले त केटाकेटीले अनावश्यक रुपमा पानी चलाए भनेपनि ढुङ्गाले हान्न मन लाग्छ – हेमकुमारीले भन्नुभयो ।
काठमाडौँ जस्ता ठूला सहरहरुमा मात्रै मिटरसहितको धारा देखेका स्थानीय जयबहादुर विश्वकर्मालाई सुरु सुरुमा त अचम्म लाग्यो, आफ्नै गाँउको मुहानको पानी पिउन पनि मिटर राखेर पैसा तिर्नु पर्ने ! उनले धारा जोड्न आएका प्राविधिकहरुलाई यसैगरी गुनासो पनि गरे । तर अहिले भने उनी पनि मिटर राखेपछि धाराको संरक्षण र पानीको जोहो हुनेकुरामा ढुक्क देखिएका छन् ।
हाम्रो पुस्तालाई त पानी पर्याप्तै छ, प्रत्येक धारामा मिटर जोडेपछि हाम्रा छोरा नातीको पालासम्म पनि पानीको संरक्षण हुने देखियो – जयबहादुरले भन्नुभयो ।
सामुदायीक विकास मञ्च नेपालको ३९ लाख ६५ हजार चार सय तीन रुपैयाँ, स्थानीय उपभोक्ता समितिको श्रमदान पाँच लाख, १४ हजार ७३ रुपयाँ र तामाकोसी गाँउपालिकाको तीन लाख गरी ५४ लाख ७९ हजार ३६ रुपैयाँको लागतमा निर्माण भएका ९६ घर धुरीमा जोडिएका धारामा स्थानियले झण्डै ढेड महिना देखि पानीको उपयोग गरिरहेका छन् ।

झुलेका छ वटा टोल बस्तिमा पानीको केही समस्या रहेछ त्यसैले संस्थाले पानीको संरक्षण र पछि पछिलाई धारा मर्मतको लागि आवश्यक कोष समेत बन्ने भएकोले मिटर सहितको धारा निर्माण गरिदिएको हो – सामुदायीक विकास मञ्च नेपालका अध्यक्ष राजु थापाले बताउनुभयो । तामाकोसी गाँउपालिका अध्यक्ष इश्वरचन्द्र पोखरेलले पनि मिटर सहितको धारा निर्माण गर्दा उभोक्ताहरु पानीको उपयोगको बारेमा निक्कै सचेत देखिएको बताउनुभयो ।
धारामा मिटर जडान गरिएको भएपनि अहिले नै उपभोक्तासँग प्रति मिटर मासिक कति पैसा लिने भन्ने निर्धारण गरीनसकेको पारीपाखा खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष सन्तोष कार्कीले बताउनुभयो । तर मुहान, धारा र ट्याङ्की संरक्षणको लागि कोष स्थापना तथा पानीको जोहो गर्न तत्कालै मिटर सञ्चालन गरी निश्चित शुल्क लिने अध्यक्ष कार्कीको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्