तपाईँ सुन्दै हुनुहुन्छः

सोलुखुम्बुको सल्लेरी र फाप्लुका विभिन्न पसल अनुगमन, म्याद गुज्रेका समान बरामद

सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी र फाप्लुका विभिन्न पसल अनुगमन गरिएको छ ।

बजारमा अखाद्य वस्तु खरिद बिक्री भइरहेको गुनासो बढ्न थालेपछि सल्लेरीको नयाँबजार, बसन्तबजार र फाप्लु क्षेत्रका पसल अनुगमन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाको नेतृत्वमा गरिएको बजार अनुगमनमा मुल्य सूची नराखेकालाई राख्न तथा पसल दर्ता गर्न समेत निर्देशन दिइएको छ । बजार अनुमगनमा एक लाख ७२ हजार रुपियाँभन्दा बढी मूल्यका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ ।

बसन्तबजार र नयाँबजार क्षेत्रका २७ वटा पसलबाट करिब एक लाख ३३ हजार रुपियाँ भन्दा बढी मुल्य बराबरको अखाद्य वस्तु जफत गरिएको छ भने फाप्लुका १४ वटा पसलबाट म्याद नाघेका ४८ हजार रुपियाँ बराबरका दैनिक उपभोग्य सामाग्री जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका अधिकृत कपिलमणि दाहालले जानकारी दिनुभयो ।

आवश्यकताअनुसारजुनसुकै समयमा बजार अनुगमन गरिने र आगमी दिनमा बजार अनुगमनलाई गाउँगाउँमा पुर्याइने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।

अनुगमनमा म्याद गुज्रिएका खाद्य सामग्रीहरु विस्कुट, चकलेट, मसला, जुस, मञ्जन, कस्मेटिक सामान, भुजिया, आटा, चिउरा खाने तेललगायतका सामानहरु विक्री वितरण भएको भेटिएको हो ।

फाप्लु क्षेत्रमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रेको खाद्यबस्तु मध्ये सबैभन्दा बढी मसला र चक्लेट भेटिएको छ । म्याद सकिएको सामग्रीका प्रयोगका बारेमा उपभोक्ता नै सचेत हुनुपर्ने सरोकारवाला बताउँछन् ।

सोलुखुम्बु जस्तो विकट तथा साक्षरता कम भएको जिल्लाका प्रायः उपभोक्ताहरु सामानको म्याद हेर्नुको त के कुरा नाम समेत सुनेकै भरमा खरिद गर्ने गर्दछन् ।

ढुवानी गरेर सल्लेरी आइपुग्दा नै म्याद सकिने अवस्था रहेको व्यापारीहरुको दाबी छ । तर एकै पटक धेरै सामान थुपारेर मूल्य बढाएर बिक्री गर्न बानी परेका सल्लेरीका व्यापारीहरु धेरैले म्याद गुज्रिएका सामान बेचिरहेको उपभोक्ताको आरोप छ ।

अनुगमनमा जफत गरिएका अखाद्य बस्तुलाई प्रहरी, प्रशासन, पत्रकार, उद्योग बाणिज्य सङ्घलगायतको रोहबरमा डिस्पोज गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button