तपाईँ सुन्दै हुनुहुन्छः

नाग्म गमगडी राजमार्ग : ‘ठेकेदार सांसद’ले काम नगर्दा १३ किमी सडकको काम अलपत्र

 

जुम्ला । ठेकेदारकै लापरबाहीले नाग्म गमगडी सडक स्तरवृद्धि अलपत्र अवस्थामा पुगेको छ । नाग्म गमगडी सडक खण्डको सुरुदेखि १३ किलोमिटरसम्म स्तरवृद्धि (ग्राभेल) गर्ने ठेक्का लिएका ठेकेदारले काम नगर्दा काम अलपत्र भएको हो । हिरा एण्ड नमिता जे.भी.का नन्दलाल श्रेष्ठ र हिमडुङ एण्ड थोकर निर्माण कम्पन्नीका ठेकेदार तथा नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामाले लामो समयदेखि काम नगर्दा १३ किमी ग्राभेल अलपत्र भएको हो ।

सडक स्तरबृद्धि अलपत्र भएपछि आन्दोलित भएका सिञ्जावासीले सम्झौता अनुसार काम नगरेर भाग्ने ठेकेदारलाई कारबाहीको माग गरेका छन् ।

ग्राभेल भएको सडक पनि हिलाम्य र धुलाम्य भएकाले गुणस्तर मापन गरेर मात्र भुक्तानी दिन पर्ने उनीहरूको माग छ । सांसदले नै जिम्मा लिएको ठेक्काको काम नभएपछि वर्षअघिदेखि सास्ती खेप्नु परेको उनीहरूको आरोप छ ।

नेपालका ९३ वटा राष्ट्रिय राजमार्गमध्येको एक नाग्म गमगडी सडक खण्डको स्तर वृद्धि सुधारको कामलाई दुर्तगतीमा अगाडी बढाइने लक्ष्य भएपनि ठेकेदारका कारण सफल हुन नसकेको सडक डिभिजन प्रमुख लीला बहादुर भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार नाग्म गमगडीको ० देखि १३ किमीसम्म ग्राभेलको जिम्मा हिरा एण्ड नमिता जे.भी. र हिमडुङ एण्ड थोकर दुई कम्पन्नीले संयुक्त रूपमा लिएका छन् । सम्झौतामा २०७२ माघ ८ गतेबाट काम सुरु भई २०७४ मा निर्माण सकिनु पर्ने भए पनि दुई पटक म्याद थप्दा पनि ०७७ जेठ ३० मा सकिनु पर्ने काम अहिलेसम्म पनि सुरु भएको छैन ।

अबपनि सम्पर्कमा नआए कारबाही प्रक्रिया अघि बढाइने गरी सूचना जारी गरिएको भण्डारीले जानकारी दिनुभयो । ‘काम सुरु गर्न सात पटक पत्राचार गरिसक्यौ । काम सुरु गर्नु त परै जाहोस् साइट हेर्न समेत कोही आएका छैनन्,कार्तिक २७ गतेसम्ममा सम्पर्कमा नआए कारबाही हुन्छ ।’ उहाँले बताउनुभयो ।

लिखित मौखिक सम्पर्क गर्दा पनि सांसदसमेत रहेका ठेकेदारले विकास निर्माण दुर्ग गतीमा गर्नुको साटो कुनै चासो नदिँदा एक हप्ता ताकेतासहित कारबाहिको चेतावनी दिइएको उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ मा सम्झौता सर्त अनुसार ठेक्काको काम नगरे कालोसूचीमा राखी कार्वाही गरिनसक्ने व्यवस्था छ ।

चालु आर्थिक वर्षमा यो सडकका लागि ९ करोड विनियोजन भएको छ । सडकको स्तरवृद्धिका लागि थप २३ करोड १३ लाख बजेट अभाव छ । भएकै बजेटको पनि काम नभएकाले समस्या झन् थपिएको भण्डारीले बताउनुभयो ।

आफ्नो कार्यकाल भरी नाग्मगमडी सँगै कार्यक्षेत्र भित्रका सडकहरूको स्तरवृद्धि,मर्मत सम्भार गर्दै बजेट खर्चलाई शतप्रतिशत गरिने डिभिजन प्रमुख भण्डारीको प्रतिबद्धता छ ।

प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतले नाग्म गमगडी सडकको काम बारे चासो राखेपछि अहिले ठेकेदारलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button