तपाईँ सुन्दै हुनुहुन्छः

बढ्यो चिसो : लेकका भेडाबाख्रा बेसीतिर झारिँदै

फाइल फोटो

 लमजुङ । चिसो बढेसँगै जाडो मौसम छल्नका लागि लमजुङका लेकका भेडीगोठहरु बेसीतिर झर्न थालेका छन् । गर्मी मौषममा लेक र खर्कमा पुग्ने भेडीगोठहरु चिसो बढेसंगै हिमाली भेगबाट चिसो छल्नका लागि गाउँबस्ती नजिकैका डाँडाकाँडाहरुमा आईपुगेका हुन् ।

उत्तरपश्चिम लमजुङका भेडीगोठहरु मनाङ र कास्कीको सिमानासम्म पुग्ने गर्दछन् । बिशेष गरी दूधपोखरी नजिकै थुर्जु लेक, लमजुङ हिमालको काख लगायतका ठाउँहरु भेडिगोठको लागि प्रख्यात छन् ।

पश्चिम लमजुङको घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, उत्तरी लमजुङको सिउरुङ, ताघ्रिङ, भूलभूले, र उत्तर पूर्वी लमजुङको ईलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी लगायतका ग्रामीण क्षेत्रका वासिन्दाहरुका भेडीगोठ रहेका छन् ।

लमजुङमा भेडीगोठहरु ६ महिना लेक र ६ महिना वेसीमा रहने गर्छ । लमजुङ हिमालको काखमा रमाएर बसेका भेडीगोठालेहरु पर्यटकीय मौसमको शुरुवातसंगै गाउँ झरेका भएपनि गर्मी मौसम शुरुभए पछि उनिहरु पुनः उच्च हिमाली भेगका खर्कहरुमा पुग्ने गर्दछन् । उच्च हिमाली भेगहरुमा राम्रो चरन क्षेत्र र घाँसे मैदान भएको कारण उनिहरु बर्खाको मौसम पारी भेडीगोठसहित लेक तथा खर्कहरुमा पुग्ने गरेको घनपोखराका भेडापालक कृषक टेकजङ गुरुङले बताउनुभयो ।

जिल्लामा ८० भन्दावटा भेडीगोठहरु रहेको र ती भेडी गोठमा २० हजार भन्दा बढि भेडाबाख्राहरु रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका जनाएको छ । जिल्लाका उत्तरी भागमा रहेका भेडीगोठबाट करोड भन्दा बढि आम्दानी हुने गरेको छ । भेडीगोठमा रहेका भेडाहरुको उन तथा मासुबाट करोड भन्दाबढि रुपैया आम्दानी हुने गरेको केन्द्रले जनाएको छ ।

घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट मात्रै बार्षिक २०० मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रतिकिलो ५ सयका दरमा भेडाको मासु विक्रीहुने गर्दछ । भेडाको मासुबाट मात्रै १० करोड भन्दा बढि रकम आम्दानी हुने गरेको कार्यालयले जनाएको छ ।

यसैगरी सो भेडिगोठहरुमा भएका भेडाहरुबाट वार्षिक पाँचहजार किलो ऊन उत्पादन हुने गरेको कार्यालयको तथ्याँक छ । उत्पादित ऊन मध्ये आधाजसो मात्रै बिक्री गर्ने गरीएको छ । भेडाको उनबाट स्थानियहरुले राडी पाखी लगायत उनिका कपडा बनाएर बिक्री गर्ने गर्दछन् ।
भेडीगोड भएका कृषकहरुले आफ्नो घरखर्च कटाएरनै लाखौँ रुपैया नाफा आम्दानी गर्ने गरेका छन् । फरक–फरक स्थानमा भएका भेडीगोठहरुको तथ्याँक लिने क्रममा उनिहरुको आम्दानीको पनि तथ्याँक राखीएको कार्यालयले जनाएको छ । जिल्लामा आठसय भन्दा बढि घरले घुम्ती भेडीगोठमा भेडा पालन गरेका छन् ।

घुम्ती भेडीगोठमा पालिएका भेडाहरु अधिकाँश पोखरा, काठमाण्डौ लगायतका क्षेत्रमा निर्यात हुने गरेका छन् । मासुजन्य उपभोगका लागि भेडा तथा बाख्रा शहरमा निर्यात हुने गर्दछ ।

जिल्लामा व्यवसायिक भेडीगोठबाट सम्भावना भएर पनि अपेक्षित आम्दानी हुन नसकेको सरोकारवालाहरुको भनाई छ । भौगोलिक विकटता, राज्यको न्यून पहँुच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको सरोकारवालाहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button