स्थानीयको लगानीमा १३१ मिटर पक्की सडक निर्माण

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्र्यांकोटका स्थानीयहरुले व्यक्तिगत लगानीमा पक्की सडक निर्माण गरेका छन् ।
गज्र्यांकोटका स्थानीयले आफ्नै लगानीमा निर्माण गरिएको उक्त सडकलाई अबिरल मार्गका रुपमा नामाकरण समेत गरेका छन् ।
गाउँमा वर्षौ पहिले निर्माण गरिएको कच्ची सडकले बर्खामा हिलाम्य र हिउँदमा धुलोले हैरान बनाएको थियो । सडकको स्तरवृद्धिका लागि स्थानीय सरकारलाई पटक–पटक गुर्हादा पनि सुनुवाई नभएपछि स्थानीयले आफ्नै लगानीमा पक्की सडक निर्माण गरेका हुन् ।
गुठिचौर–३ गज्र्यांकोटका सयौँ स्थानीयले सङ्कलन गरेको ११ लाख ७५ हजार पाँच सय ९५ रुपैयाँ बजेटबाट गाउँको एक सय ३१ मिटर लम्बाइ र दुई मिटर चौडाइको सडक आरसीसी गरिएको निर्माण समितिका अध्यक्ष खड्गबहादुर बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँका जान्नेसुन्ने, सर्वसाधरण सबैले क्षामता अनुसार रकम दिए । जम्मा १ लाख २ हजार रुपैँया उठ्यो । संकलन गरेको बजेट सिमेन्ट सरिया पनि ल्याउन नपुग्ने र ढुंगा बालुवा, गिट्टीकोका लागि करिब १० लाख रकम अभाव थियो ।”
१० लाख ७८ हजार पाँच सय ९५ रुपैयाँ बराबरको सबै गाउँले श्रमदान गरेपछि गाउँमा पक्की सडक निर्माण गरेको निर्माण समिति अध्यक्ष बुढाले उल्लेख गर्नुभयो ।
अब गुठिचौर–३ गज्र्यांकोटका स्थानीयले बर्षामा हिलो हिउँदमा धुलोको सामाना गर्नु पर्ने छैन । गाउँ हिलोमुक्त भएको भन्दै स्थानीयखुसी भएका छन् ।
अबिरल मार्ग आरसीसी गर्नका लागि स्थानीय युवा नरबहादुर बुढाले २९ हजार रुपैयाँ, धर्मराज रावलले १० हजार ५ सय , दीपेन्द्र भण्डारीले नौ हजार पाँचसय , मुनबहादुर बुढा, धनबहादुर बुढा, गोवीचन्द्र रावल, पूर्णबहादुर बुढा र देवीलाल बुढाले क्रमशः छ/छ हजार, गजेन्द्र भण्डारीले पाँच हजार ५ सय रुपैयाँ, खड्कबहादुर भण्डारी र नन्दबहादुर बुढाले पाँच पाँच हजार, परेबहादुर रावलले पाँच हजार तथा चित्र बुढाले दुई हजार रुपैयाँ अबिरल मार्ग आरसीसी गर्नका लागि उपलब्ध गराएका हुन् ।
इच्छा शक्ति र मन भए गाउँको विकास र समृद्धि सम्भव हुनेरहेछ भन्ने गतिलो उदाहरण पनि जुम्ला गुठिचौरका स्थानीयले दिएका छन् ।
स्थानीयले आफ्नै लगानीमा १ सय ३१ मिटर सडकलाई आरसीसी गरेर गाउँपालिका जनप्रतिनिधि र कर्मचारीबाट गएको सोमबार उद्घाटन गराएका छन् । अविरल मार्ग उद्घाटनका क्रममा ब्यङ्य गर्दै जनप्रतिनिधि र कर्मचारीलाई फूलमाला अविरले पहिराएका थिए ।
सडक निर्माण कार्य गत साउन १० गतेबाट सुरु उक्त सडक निमार्ण भदौ दोस्रो सातासम्म आरसीसी गरिसकिउको थियो । अबिरल मार्गबाट गज्र्यांकोटका ८० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
अबिरल मार्गको उद्घाटन गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारीले गर्नुभएको छ । । उहाँले गाउँलेको इच्छा शक्ति र सहयोगी मनले निकै राम्रो काम गरेको बताउनुभयो ।
इच्छाशक्ति मात्र भएपनि धेरै काम हुनेरहेछ, भन्ने उदाहरण यो सडक बनेको छ । उहाँले आगामी दिनमा पनि गाउँलेको साथ र सहयोग रहिरहने विश्वास व्यक्त गनुभर्यो ।
सडक उद्घाटन कार्यक्रममा गाउँका १६ जना जेष्ठ नागरिक, सहयोगीदातालाई समेत सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्