जापानबाट फर्केर कुखुरापालनमा
गलकोट– जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा यहाँका दुई जना लाग्नुभएको हो ।
कम्युनिष्ट राजनीतिमा सक्रिय बागलुङका दुई जनाले व्यावसायिक कुखुरा पाल्दै आउनुभएको छ । चार वर्ष साउदी अरबमा र छ वर्ष जापान बसाइपछि नेपाल आउनुभएका गलकोट नगरपालिका–५ हरिचौरका ललितबहादुर श्रीस र चार वर्षको जापान बसाइपछि फर्कनुभएका बागलुङ नगरपलिकाका–२ बालमन्दिर रोडका इन्द्र केसीले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आउनुभएको छ ।
दुवै जनाले हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सक्रिय राजनीतिसमेत गर्दै आउनुभएको छ । श्रीस नेकपाको गलकोट नगर कमिटीको अध्यक्ष र केसी नेकपा बागलुङ नगर कमिटीको सचिव हुनुहुन्छ । श्रीस र केसी पार्टीको बैठक, भेटघाट तथा जनगुनासो सम्बोधन गर्ने काममा त व्यस्त हुनुहुन्छ नै, त्यससँगै समयको यथोचित व्यवस्थापन गरेर व्यावसायिक कुखुरापालन पनि उहाँहरूको मुख्य कर्म हो । उमेरले ५१ वर्ष पुग्नुभएका श्रीसको जीवनमा अनेकौँ उतारचढाव आयो ।
राजनीति नै जीवन हो भन्दै आउनुभएका श्रीस केही समय राजनीतिबाट अलग भएर कहिले साउदी त कहिले जापान भौँतारिनुभयो तर विदेशको बसाइ त्यागेर कृषिमा भविष्य देख्न थाल्नुभएका श्रीसले नेपाल फर्केर राजनीतिक जीवनलाई समेत सक्रिय बनाउन थाल्नुभएको हो ।
विसं २०६० मै स्वदेश आएर कृषि पेशा अँगाल्नुभएका श्रीसले पुनः कुखुरापालनसँगै राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ । विसं २०३६ देखि विद्यार्थी राजनीतिमा लाग्नुुभएका श्रीस १० वर्षको विदेश बसाइपछि राजनीतिसँगै कृषिमा लाग्नुभएको थियो ।
स्वदेशमै केही गर्ने सोचका साथ जापानजस्तो देशसमेत त्यागरे व्यावसायिक उत्पादनमा लाग्नुभएका श्रीस अहिले गलकोटकै सफल कृषकका रूपमा परिचित हुनुहुन्छ । यस्तै ४० वर्षका केसीले दुई वर्षअघिदेखि बागलुङ नगरपालिका–३ कृषिगाउँमा जिम्माल कृषि फार्म सञ्चालनमा ल्याउनुभएको छ ।
तीनवटा ब्लकमा स्थापना गरिएको उहाँको फार्ममा हाल दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । अहिले दैनिक दुई हजारभन्दा बढी अण्डा उत्पादन गर्दै आएको केसीले बताउनुभयो । हरिचौरमा प्रशस्त जग्गा रहेको श्रीसले त्यही जग्गामा सुन फलाउने लक्ष्यका साथ विसं २०६१ देखि सुन्तला खेती, केही समय बाख्रापालन र अहिले अण्डा उत्पादनका लागि लेयर्स जातका कुखुरापालन गर्दै आउनुभएको छ । (रासस)








प्रतिक्रिया राख्नुहोस्