तपाईँ सुन्दै हुनुहुन्छः

बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान

तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ ।

प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि १८ गतेसम्म अभियान सञ्चालन गर्ने जनाएको छ ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

बाल विवाहकै कारण शारिरीक तथा मानसिक समस्या, घरेलु हिंसामा वृद्धि, सामाजिक, आर्थिक र पारिवारिक समस्यासँंगै अपराधिक कृयाकलाप समेत सृजना हुने भएकाले यसको न्युनिकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।

प्रहरीले अभियानलाई सफल बनाउन प्रहरी कार्यालय अगाडि, बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माइकिङ गर्ने, विभिन्न सञ्चार माध्यामबाट अभियानको जानकारी गराउने लगाएतका कार्यक्रम तयार गरेको छ ।

२० बर्ष नपुग्दै गरिने विवाहलाई नेपालको संविधानले बाल विवाह भन्ने गरेको छ । उमेर नपुगी विहे गरेमा दण्ड सजाय हुने कानुनी व्यवस्था छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा तुलनात्मक रुपमा ३ बर्षको अवधिमा भएका बाल विवाहको विषयमा समेत जानकारी गराइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button