तपाईँ सुन्दै हुनुहुन्छः

झडपमा गम्भिर घाइते नेकपाका मुकेश चौरसियाको निधन

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले विन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठामा हिजो आयोजित नेकपाको सपथ ग्रहण कार्यक्रममा कार्यकर्ता बीच झडप हुदा गम्भिर घाइते भएका मुकेश चौरसियाको आज उपचारको क्रममा मृत्यु भएको छ ।

टाउकोमा गम्भिर चोट लागेका चौरसियाको वीरगंज स्थित एलएस न्युरो अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भई रहेको अवस्थामा आज बिहान मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनु भयो ।

झडपमा घाइते अन्य ६ जनाको वीरगंज स्थित एसएल न्युरो अस्पताल, नारायणी अस्पताल र नेशनल मेडिकल कलेज शिक्षक अस्पतालमा उपचार भई रहेको र अन्य घाइतेहरुको अवस्था सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताउनु भयो ।

झडपको क्रममा टाउकोमा गम्भिर चोट लागेका चौरसियाको अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको चिकित्सकहरुले जनाएका छन् ।

नेकपाको विन्दवासिनी गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा पार्टी भित्रका दुई गुठ आपसी झडपमा उत्रिएपछि स्थिति असामान्य भएको थियो । झडपमा संलग्न भएको आरोपमा प्रहरीले ८ जना पार्टी कार्यकर्तालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

मृतक मुकेश चौरसिया नेकपाको विन्दवासिनी गाउँ कमिटीको तदर्थ समितिको सचिवमा चयन भएको र उनि तथा उनको टिमको गाउँ कमिटीको सपथ ग्रहणको क्रममा झडप भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button