नेपाल चीन राजनीतिक सम्मेलन सम्पन्न
यशोदा अधिकारी, काठमाडौं । हिमालय पार बहुआयामिक सम्पर्क सञ्जाल (बेल्ट एण्ड रोड इनिसियटिभ ) का सम्बन्धमा नेपाल र जनवादी गणतन्त्र चीनका राजनीतिक दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो सम्मेलन आज भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित मन्तव्य राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पढेर सुनाउनुभयो । मन्तव्यमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुबीच गरिएको सम्मेलनले दुवै देशले आपसी लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माण लगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउन मद्धत पु¥याउनुका साथै नेपालको सामाजिक आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट विश्वका अन्य मुलुक र भूभागसँग बहुआयामिक माध्यमबाट सहज ढङ्गले जोडिएको आधुनिक र विकसित मुलुकका रूपमा रूपान्तरण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय सङ्कल्पलाई साकार तुल्याउन व्यापक पूर्वाधार विकास र त्यसका लागि पर्याप्त आर्थिक लगानी एवम् प्राविधिक विकासको खाँचो औल्याउँदै पूर्वाधार निमाण र सम्पर्क सञ्जालको विकास वेल्ट एण्ड रोड सहयोगको एक महत्वपूर्ण उद्देश्य भएकाले यसको प्रवर्द्धन गर्दै हिमालय पार बहुआयामिक सम्पर्क सञ्जालको निर्माणमा चीनसंगको साझेदारीलाई अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको अवगत गराउनुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष पूरा भएको सुखद् अवसरमा चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँका जनताप्रति शुभेच्छा व्यक्त गर्दै बैठकबाट दुवै देशले आपसी लाभ लिन सक्ने अपेक्षा गर्नुभयो ।
नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रही आएको छ र तिब्बत, ताइवान, हङकङ एवम् सिन्जियाङसम्बन्धी मामिलामा चीनप्रति नेपालको पूर्ण साथ र समर्थन छ । नेपालले आफ्नो भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन दिएको छैन र भविष्यमा पनि हुन दिने छैन भन्ने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित मन्तव्य राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनले पढेर सुनाउनुभयो ।
मन्तव्यमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसियटिभ दुई देशबीचको हस्ताक्षरपछि कार्यान्वयन हुने चरणमा पुगेको उल्लेख गर्दै दुई देशबीच पछिल्ला समयमा भएका उच्चस्तरीय भ्रमणका आदानप्रदानले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभयो ।
दुई देशबीच भएका सम्झौता र सहमतिको कार्यान्वयनका लागि कार्ययोजना बन्दै गरेको अवगत गराउँदै प्रधानमन्त्री ओलीले बिआरआइ सञ्जालले नेपालको विकासमा सहयोग पुग्ने र यसबाट दुवै देशका जनतालाई फाइदा हुने मन्तव्यमा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत छनोट गरिएको नौवटा परियोजना कार्यान्वयन गर्नुपर्ने बेला आएको बताउनुभयो ।
नेपाल विकास निर्माणको तीव्र गतिमा दौडन चाहेको भन्दै अध्यक्ष तिमल्सिनाले विगतका अस्थीरताको अन्त्य भएको र नेपालको विकासमा मित्रराष्ट्र चीनबाट सिकेर अगाडि बढ्न चाहेको बताउनुभयो ।
सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एण्ड रोड इनिसियटिभले शान्ति स्थायीत्व र विकासका लागि चीनका राष्ट्रपतिसँग विगतमा गरेका भेटवार्ताहरु स्मरणीय रहेको उल्लेख गर्दै गत वर्ष स्थगन भएको आफ्नो चीन भ्रमण उपयुक्तसमयमा चाँडै हुने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले चीनीया विशेषताको एक्काइशौं शताव्दीको समाजवाद सिक्न लायक भएको उल्लेख गर्दै चीनसँग असल सम्पर्क सञ्जाल र मित्रता कायम राख्नका लागि आफ्नो तर्फबाट थप पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले दुई देशबीच परस्परमित्रता र आपसी अहस्तक्षेपको निितका आधारमा लामो समयदेखि रहेको सम्बन्ध थप विकसित भएको बताउँदै बिआरआइबाट विश्वका धेरै मुलुकले लाभ लिन सक्ने चिनिया राष्ट्रपतिको अवधारणाप्रति समर्थन व्यक्त गर्नुभयो ।
सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले रसुवा काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्मको रेल मार्ग निर्माणका लागि गरिएको सर्वेक्षण नेपालको समृद्धीका लागि उल्लेखनीय हुने बताउँदै चीनले अपनाएको विनविन सिद्धान्तको सराहना गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्