लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत
ललितपुर- लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताउनुभयो ।
उपप्रमुख गीता सत्यालले कोरोना महामारीको यस जटिल अवस्थामा बजारहरु कसरी सञ्चालन भइरहेका छन्, ग्राहक र व्यापारीले भौतिक दूरी कायम गरेका छन् या छैनन् र गुणस्तरीय सामग्री पनि बिक्री भएका छन् या छैनन् भनेर निरन्तर छड्के अनुगमन गर्ने योजना बनाएको जानकारी गराउनुभयो । महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले उपभोक्ताले उचित र सुलभ मूल्यमा गुणस्तरीय सामग्री बजारबाट प्राप्त गर्न सकेका छन् या छैनन् भन्ने बुझ्न आफूहरु लागिपरेको भनाइ राख्नुभयो ।
यसैगरी महानगरपालिकाका अनुगमन टोलीले कतिपय ठाउँमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, मापदण्ड पूरा नगरी दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको, व्यवसायीले हरेक सामग्री किनेका र बेचेका विवरण पारदर्शी तरिकाले नराखेको र भ्याट बिल तिरेर सामान नकिनेको समेत फेला पारेको बताएका छन् ।
अनुगमन टोलीका एक सदस्यले यस्ता व्यवसायीलाई तुरुन्तै प्रक्रिया पु¥याएर सही तरिकाले व्यवसाय अघि बढाउन आग्रह गरेकोे जानकारी गराउनुभयो । ललितपुरमा शुक्रबारबाट शुरु भएको बजार अनुगमनमा विभिन्न फेन्सी, औषधि, खाद्य तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन भइसक्यो । महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर ललितपुरमा निरन्तर बजार अनुगमन गर्ने जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्