तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा सदरमुकाम तानसेनमा बजार अनुगमन

पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा बजार अनुगमन भएको छ । अनुगमनका क्रममा व्यापारीले उपभोक्तालाई म्याद नाघेका सामग्री समेत बिक्री गर्ने गरेको पाईएको छ ।

तानसेनका केही पसलबाट म्याद नाघेका चकलेट, कस्मेटिक सामग्री, पिउने पानी, मिठाई फेला परेको छ ।

तानसेनका खाद्यान्न पसल, दुध डेरी, वधशाला, मासु पसल, फेन्सी पसल, कस्मेटिक पसल, औषधि पसल लगायतका पसलहरूमा अनुगमनका गरिएको हो । अनुगमनका क्रममा पसलहरुले मूल्य सूची, साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, नापतौल, म्याद नाघेको सामग्री, लगाएतका कुरामा ध्यान नदिएको पाइएको छ ।

तानसेनका केही होटलबाट एक वर्षअघि नै म्याद नाघेको पानीको बोत्तल अहिले पनि बिक्री गरिरहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अनुगमनका क्रममा पसलहरुमा अन्य खाद्य सामग्री समेत म्याद नाघेको पाइएको छ ।

तानसेनस्थित सिल्खानटोलमा रहेको आयूव स्टोर्समा सन् २०१३ मा म्याद नाघिसकेका श्रृङ्गारका सामग्री बिक्री गरेको पाइएको छ । सात वर्षअघि म्याद नाघेका पाउडर, अत्तर, विभिन्न प्रकारका अनुहार तथा हातमा लगाउने क्रिम फेला परेको अनुगमन टोलीले जनाएको छ ।

तानसेनका विभिन्न पसलमा गरिएको अनुगमनका क्रममा विभिन्न पेय पदार्थ, ससेज, सोंफ लगायतका सामग्री म्याद नाघेको अवस्थामा फेला परेको थियो । म्याद नाघेका सामग्री बिक्री गर्दै आएका व्यापारीलाई प्रशासनमा उपस्थित गराई आवश्यक अनुसन्धान गर्ने काम भइरहेको छ ।

उपभोक्तालाई ठगी गर्ने व्यापारीलाई कारवाहीको लागि सिफारिस गरिने घरेलु कार्यालयका प्रमुख देवीराम भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button