कृषि ज्ञान केन्द्रले चालु वर्षमा १७ करोड रुपैयाँ खर्चिँदै

पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि विनियोजन भएको बजेट सार्वजनिक गरेको छ । कार्यालयले १७ करोड ३९ लाख ८ हजार रुपैयाँको कुल बजेट कार्यक्रमका लागि स्वीकृत गरेको छ । यसमा पुँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड २३ लाख ८ हजार रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले दिएको जानकारी अनुसार कार्यालयलाई सङ्घ सरकारको सशर्त तर्फ ४ करोड ८० लाख ५५ हजार र प्रदेश सरकारबाट चालु तर्फ ८ करोड ४२ लाख ५३ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ ।
कृषिको व्यवसायीकरण, यान्त्रीकरण र प्रविधिकरणमा जोड दिँदै चालु वर्ष कार्यालयले कार्यक्रम सञ्चालन गर्ने रेग्मीले बताउनुभयो । कार्यालयले चालु वर्ष ७२ वटा साना व्यवसायीक कृषि फर्म स्थापना तथा विस्तार गर्ने, ५ वटा स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना गर्ने, ३२ वटा ग्रिन हाउस निर्माण गर्ने, ७० वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ । यस्तै १० वटा आलु पकेट क्षेत्र विस्तार गर्ने, ५ वटा पकेटमा रैथाने वाली क्षेत्र बनाउने, ३५ ठाउँमा उन्नत कृषि प्रविधि प्रदर्शन स्थल बनाउने र २ वटा मूल्य श्रखंलामा आधारित परियोजना सञ्चालन गर्ने जनाइएको छ ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण अर्यालले साना तथा आधुनिक सिँचाई बिस्तार, च्याउ घर निर्माण, कृषि यन्त्र उपकरण खरिद, पुस्तकालय व्यवस्थापन समेतको लक्ष्य राखेको छ । १० हेक्टर जमिनमा बीउ उत्पादक गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा सामाग्री सहयोग गर्ने, दुई वटा फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्ने, मकै, भटमास, चैते धान खेती बिस्तार गर्दै जाने, क्षेत्रफलको आधारमा तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्ने, बालीको बिमा शुल्कमा २५ प्रतिशत अनुदान दिने तय भएको जानकारी दिनुभयो । यस्तै कार्यालयले घरघरमा प्राङ्गारिक मल उत्पादन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयमा करेसाबारी तथा बगैँचा सहयोग कार्यक्रम, कृषक राहत तथा मागमा आधारित सहयोग कार्यक्रम तथा विभिन्न खाले प्राविधिक तालिम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।








प्रतिक्रिया राख्नुहोस्