तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान सञ्चालन गर्ने

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बढ्दो महिला हिंसा, हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुन नदिन सरकारले ‘राष्ट्रिय सामाजिक जागरण’ अभियान नै सञ्चालन गर्ने घोषणा गर्नु भएको छ ।

मन्त्री गुरुङले पाँच वर्षीया बालिका समेत बलात्कार हुने गरेको घटनाले लज्जाबोध गराएको उल्लेख गर्नुहुँदै त्यस्ता जघन्य अपराधिक घटना हुनै नदिन राष्ट्रिय सामाजिक जागरण अभियान सञ्चालन गर्ने सोच अघि सारिएको पनि स्पष्ट पार्नुभयो ।

बिहिबार ‘कोभिड–१९ निर्देशक समिति’ को भर्चुअल बैठकमा बोल्दै उहाँले सामाजिक अपराधका घटनाको न्याय सम्पादनमा ढिलाई हुन नदिन, अनुसन्धानमा प्रहरीको कामलाई प्रभावकारी बनाउने विषयमा पनि अन्तर मन्त्रालयबीच सघन छलफल भइरहेको बताउनुभयो ।

त्यस्ता अपराधिक घटना हुन नदिन स्थानीय जनप्रतिनिधिहरु र नागरिक समाजका अगुवाहरुलाई पनि परिचालन गरेर अघि बढने मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले सो अभियानका लागि कार्ययोजना बनाउने काम तत्काल सुरु गर्ने उल्लेख गर्नुहुुँर्दैै आवश्यक सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाजका अगुवाहरु तथा सामाजिक संघ, संस्थालाई आग्रह गर्नुभयो ।

मन्त्री गुरुङले कोभिडको महामारीपछि देशमा झनै हत्या, हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको स्विकार गर्दै त्यसलाई नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकार एकीकृत कार्ययोजनाका साथ अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘कोभिड–१९ सँगै सामाजिक अपराधका घटनाहरु बढेर गएको पाइएको छ,’ मन्त्री गुरुङले भन्नुभयो,‘त्यस्ता अपराधिक घटना हुन नदिन तीन वटै तहका सरकारले एकिकृत कार्ययोजना बनाई तत्काल लागू गर्नेछ ।’

सो भर्चुअल बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले हरेक स्थानीय तहमा ‘लैगिक हिंसा निवारण कोष’ स्थापना गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button