तपाईँ सुन्दै हुनुहुन्छः

बाँके ट्राफिक प्रहरीको आगामी योजना ‘एक दिन, एक अभियान’

बाँके । जिल्ला ट्राफिक कार्यालय कोहलपुर, बाँकेले एक दिन एक अभियान सञ्चालन गर्ने भएको छ ।

बाँकेका सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्रहरुमा सवारी दुर्घटना न्युनिकरणका लागि एक दिन एक अभियान सञ्चालन गरिने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नयाँ आएका कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजु भण्डारीले आफ्ना प्राथमिकता समेत सार्वजनिक गर्नुभएको थियो । उहाँले यो अभियानमा बारेमा जानकारी गराउनु भएको हो ।

बाँकेमा अब प्रत्येक दिन कुनै न कुनै विषयमा जिल्लाभर ट्राफिक दुर्घटना न्युनिकरण सम्बन्धी अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । ‘अभियानको मुल उद्देश्य सवारी दुर्घटना न्युनिकरण तथा मानवीय तथा भौतिक क्षति कम गर्ने हो’ ट्राफिक प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो, ‘यो अभियान दैनिक सञ्चालन हुनेछ । एक दिन मापसे विरुद्ध अभियान चल्छ भने अर्को दिन तीव्र गति । अर्को दिन ओभर लोडका विषयमा अभियान सञ्चालन हुन्छ ।’ सवारी दुर्घटना न्युनिकरण पनि आफ्नो प्राथमिकतामा रहने उहाँको भनाई रहेको छ ।

बाँकेका ट्राफिक प्रहरी प्रमुख समेत रहेका ट्राफिक प्रहरी निरीक्षक भण्डारीले सवारी दुर्घटना न्युनिकरण गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएको दाबी गर्नुभयो ।

त्यसैले सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय सरकार, उद्योगी, व्यापारी, समाजसेवी लगायत सम्पूर्णसँग सवारी दुर्घटना न्युनिकरणका लागि हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । ‘सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा हामी सक्रिय हुन्छांै । कोहलपुरसँगै नेपालगञ्ज तथा अन्य क्षेत्र प्राथमिकता रहेको उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button