तपाईँ सुन्दै हुनुहुन्छः

माछा पालनले सिंगापुरको जागिर बिर्सायो, बार्षिक पाँच लाख आम्दानी 

स्याङ्जा । युवाहरुमा विदेशको मोह बढिरहेका बेला स्याङ्जाका एक युवामा स्वदेशी मोह जागेको छ ।

सिंगापुरमा ६ वर्षसम्म बस्नुभएका वालिङ नगरपालिका–१४ बायँखोला तिवारी पसलका नारायण खाँणलाई आफ्नै भुमि उर्वर बनाउने मोह जागेको हो । खाँणले विगत ९ वर्षदेखि माछा पालन गर्दै आउनुभएको छ ।

६ वर्षसम्म सिंगापुरमा एक्जुकेटिभ म्यानेरसम्मको जागिरे खाँणलाई माछा पालनले त्योभन्दा बढी सन्तुिष्ट मिलेको छ । अध्ययनका लागि सिंगापुर जानुभएका खाँणले म्यानेजरको जागिर खाँदा राम्रै पैसा पनि आउँथ्यो । खाँणले भन्नुभयो, ‘अरुको भुमिमा जति नै ठुलो पदमा बसेपनि त्यहाँ हाम्रो अस्तित्व कमै हुनेरैछ । विदेशमा मैले भविष्य देखिन र म नेपाल फर्के ।’

बाजे जिजूबाजेका पालादेखि नै कृषि वातावरणमै हुर्किएका खाँणले भन्नुभयो,‘हामी यहाँको स्वस्च्छ हावापानी, माटोमै हुर्किएको मान्छे कृषिलाई आधुनिक प्रणालीबाट गर्यौँ भने राम्रो हुने देखेँ र कृषिमा लाग्ने निर्णय गरेँ ।’

हामी नेपाली वषौँदेखि धान, गहुँ, कोदो र मकैमै बढी ध्यान दिएका कारण कृषिमा फड्को मार्न नसकिएको उहाँको अनुभव छ । ‘नगदेबाली गर्न सकियो भने पैसाकै लागि सिंगापुर, अमेरिका र कोरिया जानु पर्दैन् । छुट्टै सान र मानका साथ यही पैसा कमाउन सकिन्छ ।’ उहाँले भन्नुभयो ।

विशेषगरी यहाँको आँधीखोलाको माछा निकै स्वदिलो र पोषिलो भएका कारण यहाँको चिसो पानीमा पालिएको माछाको महत्व रहेको उहाँले बताउनुभयो । पछिल्लो समय आँधीखोला उत्खनन कारण पर्याप्त माछा नभएकोले पनि माग धेरै भएको देखेर उहाँ माछापालनमा लाग्नुभएको हो ।

६ वटा ठूला पोखरीमा माछा पाल्दै आउनुभएका खाँणले वार्षिक पाँच लाखसम्म कमाई गर्नुभएको छ । यहाँको माछा स्याङ्जासहित छिमेकी जिल्ला पर्वत र पाल्पामा समेत पुग्ने गरेको छ ।
अनुदान, बैंकको कृषि कर्जामा समस्या हुने कारणले पनि युवाहरुलाई कृषिमा टिकाई राख्न नसकिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘वित्तीय संस्थाले धितोलाई मात्र नभएर फर्मलाई पनि आधार मानेर कर्जा दिनुपर्छ ।’

खोलाको पानी लाग्ने ठाउँमा जग्गा भाडामा लिएर माछा वा बङ्गु्रपालन जुनसुकै व्यवसाय गरेपनि आम्दानी प्रशस्त हुने उहाँको अनुभव छ ।

‘कति क्षेत्रफलमा कति माछा पाल्ने भन्ने बारेमा विज्ञहरुका अनुसार सरकारले पनि मापदण्ड तय गरेको छ ।’ उहाँले भन्नुभयो ।

उहाँले धेरैले मापदण्ड विपरित माछा हाल्ने, धेरै भुरा हालेर छिट्टै कमाउने होडमा लाग्दा घाटा खानुपरेको बताउनुभयो । सरकारले तय गरेको मापदण्ड अनुसार प्रतिरोपनी चारदेखि पाँचसयसम्म माछापाल्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button