मन्त्री गुरुङद्वारा गाउँपालिका भवन शिलान्यास
बागलुङ– बडिगाड गाउँपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । भवनको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिलान्यास गर्नुभयो ।
सो अवसरमा मन्त्री गुरुङले स्थानीय तहले विकास खर्च बढाउनुपर्ने बताउनुभयो । उहाँले समृद्ध नेपालका लागि राज्य र नागरिक एक अर्काप्रति जवाफदेही बन्नुपर्ने धारणा राख्नुभयो ।
प्रशासनिक भवनका लागि प्रदेश सरकारले रु दुई करोड र गाउँपालिकाले रु दुई करोड बजेट विनीयोजन गरेको छ । आउँदो आवमा पनि थप बजेट छुट्टाउने मन्त्री गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष मेहरसिँह पाइजाले रु पाँच करोड १८ लाख, ५४ हजारमा भवनको ठेक्का सम्झौता भएको बताउनुभयो ।
काठमाडौँको माउण्ट संयुक्त निर्माण कम्पनीले भवन बनाउने जिम्मा पाएको छ । ५४ कोठासहितको तीन तले भवन १८ महिनाभित्र सक्ने लक्ष्य छ । बडिगाड–५ खार बजारमा भवन बन्न लागेको हो । गाउँपालिकाको केन्द्र बस्ने भएपछि स्थानीयवासीले निःशुल्क जग्गा दिएका थिए ।
शिलान्यास समारोहमा प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’, इन्द्रलाल सापकोटालगायत जनप्रतिनिधि र स्थानीयवासी सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्