तपाईँ सुन्दै हुनुहुन्छः

आज २३४० जना कोरोना सङक्रमण मुक्त


काठमाडौँ । नेपालमा आज थप २ हजार ३ सय ४० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज २ हजार ३ सय ४० जना संक्रमण मुक्त भएको जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म ६७ हजार ५ सय ४२ जना कोरोना संक्रमण मुक्त भएको र संक्रमण मुक्त हुने दर ७४ दशमलव ३ प्रतिशत रहेको प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

यसैगरी आज काठमाडौँ उपत्यकामा १ हजार १७ जना सहीत देशभरीमा थप १ हजार ५ सय ५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आज काठमाडौमा ७ सय ८३, ललितपुरमा १ सय १८, भक्तपुरमा १ सय १६ , रुपन्देहीमा ९६ तथा चितवनमा ८१ जना नयाँ संक्रमित थपिएका छन् ।

आज ११ हजार ४७ वटा नमूनाको पीसीआर परीक्षण गर्दा देशका विभिन्न ५७ जिल्लाका ५ सय ९ जना महिला र १ हजार ४२ जना पुरूषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी आज ४ महिला र ५ पुरूष गरी थप ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । आज ललितपुरका ३, काठमाडौका २ तथा सुनसरी, तेह्रथुम, चितवन,र नवलपरासीका १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हाल सम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ सय ६२ पुगेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामका लागि बाहेक भारतीय शहरमा नजान सीमा क्षेत्रका नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले दशैं तथा अन्य चाडपर्वका लागि आवश्यक सामग्री तथा अन्य दैनिक उपभोग्य बस्तुको किनमेल गर्ने लागयतका सामान्य कामका लागि सिमापारीका भारतीय बजारमा नजान आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले चाड मनाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना संक्रमण हुने सम्भावना बढी भएको हुनाले यस वर्षको दशै जो जहाँ छ सोही ठाउँमा मनाउन समेत सबैसंग आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button