तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय

रुपन्देही । नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय गरेको छ ।

आज मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले ह्वीप लगाएरै भएपनि सरकारले ल्याएको प्रस्तावलाई पास गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताउनुभयो । प्रदेश ५ प्रदेश सभामा हिजो शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नामाकरण लुम्बिनी राख्ने प्रस्ताव पेश भएको छ ।

प्रस्ताव पेश भएपछि नेकपाले आज बिहान संसदिय दलको बैठक बोलाएको थियो । बैठकमा सहभागि साविक लुम्बिनी अञ्चलका सांसदहरुले भने बुटवल राजधानीलाई निरन्तरता दिनुपर्ने बताएका थिए । बैठकमा सहभागि सांसदहरुले प्रस्ताव माथी छलफल गरेर आफ्ना भनाई राखेपनि अन्ततः निर्णयको तहमा जाँदा सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सचेतक ढकालको भनाई छ ।

छलफलमा सहभागि सांसदहरुले आफ्ना भनाई राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा उठेका विषयलाई सम्बोधन गर्दै पार्टीको निर्णय र प्रदेश सरकारले पेश गरेको प्रस्तावमा मतदान गर्न आग्रह गर्नुभएको थियो । मतदान गर्न नचाहने सांसदहरुलाई समेत ह्वीप लगाएरै भएपनि प्रस्ताव पास गर्नका लागि मुख्यमन्त्री पोखरेलले सांसदलाई निर्देशन दिनुभएको थियो ।

बैठकमा सभामुख पुर्ण बहादुर घर्ति र दाङकी सांसद विमला वलीबाहेक अरु सवैको उपस्थिति रहेको थियो । बैठकमा सहभागि प्रदेश सरकारका प्रवक्ता समेत रहेका बैजनाथ चौधरीले लुम्बिनी क्षेत्रका सांसदहरुले बुटवललाई नै राजधानी निरन्तरता दिनुपर्ने छलफलका क्रममा बताएको बताउनुभयो । उहाँले स्थायी राजधानी दाङ देउखुरीको प्रस्तावमाथि आपत्ति समेत रहेको बताउनुभयो ।

हिजो प्रदेश सभामा पेश भएको प्रस्तावमाथि सोमबार बस्ने बैठकमा छलफल हुनेछ । सत्तारुढ दल नेकपाले सोमबार र मंगलबार दुई दिन प्रस्तावमा छलफल गरेर मंगलबार नै प्रस्ताव पास गराउने रणनितीमा छ । त्यसका लागि भोली पुनः सर्वदलिय बैठकको समेत आव्हन गरिएको प्रमुख सचेतक ढकालले बताउनुभयो ।

सर्वदलयि बैठकमा मुख्यमन्त्री शंकर पोखरेल भने सहभागी हुनुहुने छैन । सर्वदलिय बैठकले सवै दलको बीचमा साझा सहमति गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button